बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कर्णालीमा एमालेका तीन मन्त्रीले दिए सामूहिक राजीनामा, मुख्यमन्त्री शाही अल्पमतमा

बुधबार, चैत्र २५ २०७७

कर्णाली प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने एमालेका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । आफ्नै नेतृत्वमा सरकार बनाउने योजनाअनुसार एमाले मन्त्रीहरूले राजीनामा दिएका हुन् । 

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले मंगलबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष सामूहिक राजीनामा दिएका हुन् ।

तीन मन्त्रीको राजीनामासँगै कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ । गत ४ चैतमा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि एमाले माधव नेपाल पक्षका नेताहरूले सरकारलाई दिएको समर्थन कायमै रहेको बताउँदै आएका थिए । 

‘हामीले मुख्यमन्त्रीलाई राजीनामा पेस गरेका छौँ,’ आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले भने, ‘संसदीय दलको निर्णयअनुसार नै राजीनामा दिएका हौँ ।’ सर्वोच्च अदालतले माओवादी केन्द्र र एमाले ब्युँताएपछि आफूहरू पूर्ववत् पार्टीमै फर्किएको र माओवादीलाई दिएको समर्थन फिर्ता लिएको ज्वालाले बताए । ‘हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौँ,’ उनले भने, ‘अब स्वतः माओवादी केन्द्रको सरकार अल्पमतमा परेको छ ।’ आफ्ना विचार, धारणा र निश्चित अडान रहेका कारण पार्टीमै बसेर संघर्ष गर्ने ज्वालाले बताए । ‘हाम्रा निश्चित मूल्य र मान्यता छन्,’ उनले भने, ‘हामी ती मूल्य र मान्यतालाई पार्टीभित्र र पार्टीमै रहेर संघर्ष गर्नेछौँ ।’ केन्द्रमा विवाद भए पनि कर्णाली प्रदेशमा भने एमालेका केपी ओली र माधव नेपाल दुवै पक्षका प्रदेश सांसदहरूले सहमति गरेरै नयाँ सरकार बनाउने तयारी गरेका छन् ।