बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ओलीका सच्चा उत्तराधिकारीहरू धरमरमा

बुधबार, चैत्र १८ २०७७

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गराए पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको विरुद्ध विपक्षी दलहरूले अविश्वास प्रस्ताव ल्याउन सकेका छैनन् ।

पहिले ओली सरकारको विरुद्धमा रहेका भनिएका मधेशवादी दल जसपा र तिनका नेताहरू त्यत्तिकै छरपष्ट अवस्थामा पुगेका छन् । प्रमुख विपक्षी दल नेपाली काँग्रेस पनि निरीह बन्दै गएको छ । निर्णायक घडी वारिकोभन्दा पारिको वचन र निर्देशनमा भर पर्न थालेको छ ।

यता,सरकार र पार्टीभित्र कसैले हल्लाउन नसक्ने आँकलन गरेपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले महत्वाकांक्षी योजनाका साथ आगामी मंसिरको लागि महाधिवेशन घोषणा गर्नुभएको छ । अब हुने भनिएको महाधिवेशनमा आलोचनाशून्य समर्थक समूहले ताली पिटेपछि पुनः उहाँ आफैँ अध्यक्ष हुने रणनीतिमा विधान संशोधन र महाधिवेशनको घोषणा गरिएको अर्थ लगाउन गाह्रो छैन । घटनाक्रमले उहाँसँग निकट भनिएका अर्थमन्त्री विष्णु पौडेल र महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई क्रमशः साइड लगाउने माहौल बन्दै गएको छ । जबकि यसअघि उहाँहरू दुबैजनालाई ओलीको उत्तराधिकारीको रूपमा लिइएको थियो ।

त्यही रहस्य बुझेर हुनसक्छ पोखरेल र पौडेल पार्टीलाई अलिकति भएपनि मिलाउन पाए हुन्थ्यो भन्ने ध्याउन्नमा लागेको बालुवाटारनिकट स्रोतको बुझाई छ । ‘त्यसो हुँदा मात्र महाधिवेशनमा आफूहरूलाई फाइदा हुने सुुक्ष्म क्याल्कुलेशनमा त्यसो गरिएको हो,’ भन्दै स्रोत थप्छ ‘त्यतिन्जेल पार्टीबाट नअलग्गिई सङ्गै बसिरहेमा वरिष्ठ नेता माधव नेपाल र ओलीबीच तीब्र प्रतिस्पर्धा हुने देखिन्छ । अनि आफूहरूसँग ओलीले मिल्नै पर्ने परिस्थिति सिर्जना हुने भएकाले त्यसको लाभ पोखरेल र पौडेललाई जाने उहाँहरूको निश्कर्ष हो ।’

उहाँहरूले अन्यथा,ओलीसँग जुध्न नसकिने भएकाले समर्पण गर्नुको विकल्प नभएको समेत बताएको स्रोतको दाबी छ । त्यसैले परिस्थिति मिलुन्जेल मन्त्री खानेमा दुवैजना ढुक्क हुनुहुन्छ । चुनावपछि कुनैपनि नेताको अहिलेको सरकारी पोजिशन नरहनेमा सबै ढुक्क छन् । त्यसपछि पार्टीभित्रको पदमात्र बाँकी रहने छ । त्यसैले महाधिवेशनमा पार्टीभित्रको पद पनि अध्यक्ष ओलीले अरुलाई जिम्मा लगाउने माहौल बन्दै गएपछि उहाँहरूले उक्त पहल थाल्नुभएको बताइन्छ ।

उता,वामदेव गौतम पनि राष्ट्रिय सभामा सांसद हुनुभएकाले आगामी चुनाव लड्ने कुरो भएन । पार्टी ब्रेक भएको अवस्थामा उहाँले चुनाव जित्ने कुरो आकाशको फल हुनेछ । अर्कोतर्फ अहिल्यै उमेर ७३ वर्ष भइसकेको छ । यसअघि जति खेलाए पनि उहाँ आँखा चिम्लेर प्रधानमन्त्री ओलीको पछि लाग्नुभएको थियो । तर,अहिले उनै गौतमलाई बालुवाटारको ढोका अनौपचारिक रूपमा बन्दसरह बनाइएको छ । यसबीच उहाँको सम्बन्ध वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि त्यति निकट देखिँदैन । त्यसैले होला बालुवाटारले भन्ने गरेको छ ‘गौतमको शक्ति सिध्दियो,चुनाव र महाधिवेशनपछि उनको अध्याय पूर्णत: समाप्त हुनेछ ।’

त्यसोभए प्रधानमन्त्री ओलीले जे जति निर्णय र कदम चाल्नुभएको छ त्यो सबै कोसँगको सल्लाहमा होला ? भन्ने जिज्ञासा छदैछ । स्रोत भन्छ ‘पार्टीभित्र सल्लाह गर्ने भनेको शीतल निवास मात्रै हो । त्यसपछि अलिअलि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल हुन् । विष्णु रिमाल,सुवास नेम्वाङहरू देखाउने दाँत मात्रै हुन् । चपाउने दाँत अघिल्ला दुई हुन् ।’ जन आश्था साप्ताहिकमा खबर छ ।