बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

ओलीले थाले कारबाही

मंगलबार, चैत्र १० २०७७

एमाले अध्यक्ष केपी ओली समूहले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई तीन दिनभित्र लिखित जवाफ पठाउन र नपठाए कारबाही गर्ने चेतावनीसहितको स्पष्टीकरणपत्र पठाएको छ । चार नेताले भने ओलीसँग स्पष्टीकरण सोध्ने वैधानिक अधिकार नभएको प्रतिक्रिया दिएका छन् ।

नेताहरूलाई सोधिएका प्रश्न

घनश्याम भुसाललाई चार, अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको प्रश्न जोडेर भीम रावल र सुरेन्द्र पाण्डेलाई पाँच–पाँच र समूह नेताको हैसियतमा माधव नेपालसँग १० प्रश्न सोधिएको छ

१. तपाईंले साबिक नेकपाको वरिष्ठ नेताको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा १९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप तयार गर्न, पार्टी विधानको व्यवस्थाविपरीत छापामार शैलीमा तत्कालीन पार्टी सचिवालयमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झन्डा र लोगोसमेतको अनधिकृत रूपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गरेर वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियारसमेत भई पार्टी हितविपरीत कार्य गरेको र गराउनुपर्नाको कारण के हो ? 

२. नेकपाको विधानविपरीत सडक तथा अनधिकृत स्थानमा बसी अनधिकृत र कानुनविपरीत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र साधारण सदस्यसमेतबाट के–कुन आधारमा सडकबाटै कथित निष्कासनको निर्णय गर्नु–गराउनुभएको हो ?

३. निर्वाचन आयोगमा पार्टी विधान र हितविपरीत पटक–पटक तपाईं र तपाईंसमेत भई विभिन्न प्रकारका निवेदनहरू के–कति कारणले गर्नु–गराउनुभएको हो ?

४. पार्टी फुटाउने उद्देश्यले पार्टीको नाम, चिह्न र झन्डासमेत कुनै एउटा समूह वा गुटले मात्र प्रयोग गर्ने गराउने उद्देश्यका साथ विभिन्न कथित निवेदन लिई निर्वाचन आयोगमा पटक–पटक किन जानुभएको हो ? र, पार्टी फुटाउँदा के–कुन उद्देश्य हासिल हुने हो ? 

५. पार्टी अध्यक्ष र महासचिवद्वारा ०७७ चैत ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गरी पार्टीको नाम, चिह्न र झन्डाको दुरुपयोग गरी मिति ०७७ चैत ४ र ५ गते कथित राष्ट्रिय भेला गरेको, विभिन्न अन्य भेलाहरू निरन्तर गरिरहेको, विभिन्न पार्टी कमिटी तथा भ्रातृ संगठनहरूको भेला गरी अनधिकृत रूपले विभिन्न कार्य गरी–गराई पार्टी फुटाउन नेतृत्व र अगुवाइ किन गर्नुभएको हो ? 

६. केपी ओलीले नेतृत्व गरेको लोकप्रिय सरकारका विरुद्ध संसद्, सञ्चारमाध्यम र सडकबाट निरन्तर विरोध गरेको र आफ्नै सरकारका विरुद्ध आफ्नो दलका नेता एवं प्रधानमन्त्रीलाई थाहै नदिई छापामार शैलीमा अविश्वासको प्रस्ताव तयार गरेको, प्रतिनिधिसभाका कतिपय माननीय सदस्यहरूलाई भ्रम तथा प्रलोभनमा पारी हस्ताक्षर गराएको र कतिपय माननीय सदस्यहरूको फर्जी हस्ताक्षरसमेत गरी मिति ०७७ पुस ५ गते संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास गरेकोजस्तो गर्नै नहुने अत्यन्तै हानिकारक र अनुशासनहीन काम किन गर्नुभयो ?

७. सम्मानित सर्वोच्च अदालतको मिति ०७७ फागुन २३ गतेको फैसलापछि एमालेको केन्द्रीय कमिटीका दशौँ, एघारौँ र बाह्रौँ बैठक र संसदीय दलका बैठकहरूमा समेत उपस्थित हुनुको साटो पार्टीको विधान र निर्देशनविपरीत पार्टी र जनसंगठनहरूको नाम, झन्डा र चिह्नको दुरुपयोग गरी समानान्तर संगठन निर्माण गर्ने र कथित राष्ट्रिय कार्यकर्ता भेला तथा विभिन्न नामका कथित भेलाहरू आयोजना गर्नु र पार्टी र पार्टीको एकताविरोधी प्रस्ताव प्रस्तुत एवं पारित गर्नु र गराउनुको कारण के हो ?

८. विपक्षी राजनीतिक दलहरूसँग गठबन्धन गरी आफ्नो पार्टीको अध्यक्ष एवं दलका नेता केपी ओली नेतृत्वको सरकार गिराउन र अन्य राजनीतिक पार्टीका नेताहरूलाई प्रधानमन्त्री बनाउन षड्यन्त्र गर्नुको कारण के हो ? 

९. ‘माधव नेपालहरू सके एमाले कब्जा गरेर, नसके विद्रोह गरेर नेकपा (माओवादी केन्द्र)सँग एकता गर्न आउनुहुन्छ’ भन्ने पुष्पकमल दाहालका सार्वजनिक भनाइहरूप्रति तपाईंको मौन समर्थन रहनुको रहस्य वा कारण के हो ? यसबीचमा पनि पुष्पकमल दाहालसँगको निरन्तर भेटघाट जारी रहनुको अर्थ के हो ? 

१०. माथि उल्लेखित क्रियाकलापहरूका साथै तपार्इंले पार्टी हितविपरीत पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टी विधान तथा निर्णयविपरीत गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टी निर्णय बारम्बार उल्लंघन गरेको, पार्टीप्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई स्वयं पार्टीप्रतिको निष्ठा र विश्वासबाट च्युत भएको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने गरी निरन्तर विभिन्न क्रियाकलापहरू सञ्चालन गरे–गराएको, पार्टी कमिटीको गोपनीयता भंग गरे–गराएको, पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमा रहेको वा विपक्षीसँग साँठगाँठ गरे–गराएको, केन्द्रीय जनप्रतिनिधि संस्थालगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत विभिन्न कार्यहरू निरन्तर गरिरहेको–गराइरहेको र यस्ता अवाञ्छित क्रियाकलापहरूमा पार्टीका जिम्मेवार व्यक्तिहरूलाई सम्मिलित गराएको–उक्साएको, अवाञ्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रहितविपरीत काम गरे–गराएको, पार्टीको विधान र नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरूले पालना गर्नुपर्ने भनी उल्लेखित कर्तव्यको उल्लंघन गरे–गराएकोसमेत प्रस्ट देखिएकाले यस्तो क्रियाकलाप निरन्तर गरी–गराई पार्टी हितविपरीत, पार्टीको एकता, अक्षुण्णता र अग्रगामी कार्यको विरुद्ध, पार्टीले राष्ट्रहित तथा जनहितका लागि गरिरहेको र गर्नुपर्ने कार्यलाई रोक्ने र पार्टीजीवन तथा समग्र पार्टीमाथि नै आँच आउने गरी पार्टीलाई विभाजनको दिशामा लान यस्ता विभिन्न अनुचित क्रियाकलापहरू गरे–गराएको देखिएकोले त्यस्ता विभिन्न क्रियाकलापहरू के–कति कारणले निरन्तर गर्नु–गराउनु भएको हो ? मिति ०७७ चैत ७ गते सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बाह्रौँ बैठकको निर्णयबमोजिम माथि उल्लिखित विषयहरूमा तपाईंले पार्टी विधानको धारा ४९ (क) को १, २, ३, ४, ५, ६, ७, ९, १० र १४ को उल्लंघन गरेको सप्रमाण देखिएकाले तपाईंलाई पार्टी विधानबमोजिम कारबाही किन नगर्ने ? आजको नयाँ पत्रिकामा खबर छ ।