बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बजार अनुगमनलाई पैसा छैन, कार्यक्रम भने पाँचतारेमा

मंगलबार, चैत्र ३ २०७७

काठमाडौं । बजार अनुगमन र सवारीसाधन मर्मत गर्न बजेट अभाव भएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन सुस्त हुने गरेको जनाएको छ । उसले थप बजेटका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा फाइलसमेत पठाइसकेको छ । यसरी बजेट अभाव देखाएर कामबाट पन्छिने गरेको विभागले ‘विश्व उपभोक्ता अधिकार दिवस’ भने काठमाडौंको नयाँ बानेश्वरस्थित पाँचतारे होटल एभरेस्टमा गरेको छ ।

उपभोक्तालाई आफ्नो हकअधिकारबारे जानकारी गराउने, उनीहरूलाई सचेत तुल्याउने, सकेसम्म र्‍याली गर्नेलगायत कार्यक्रम गरेर उपभोक्ता दिवस मनाउनुपर्ने जानकार बताउँछन् । तर कार्यक्रम होटलमा मात्रै सीमित हुँदा दिवसबारे सर्वसाधारण बेखबर हुने गरेको विभागका पूर्वमहानिर्देशक योगेन्द्र गौचनको भनाइ छ । ‘उपभोक्तालाई आफ्ना हकअधिकारबारे त्यति थाहा हुँदैन, त्यसैले सकेसम्म उपभोक्तालाई सचेत गराउने जस्ता कार्यक्रममा विभाग लाग्नुपर्ने हो,’ उनले भने, ‘तर विभागले कार्यक्रम नै पाँचतारे होटलमा गर्‍यो, जुन उचित होइन ।’

विभागकै पूर्वमहानिर्देशक (हाल: वैदेशिक रोजगार विभागका महानिर्देशक) कुमार दाहालले पनि उपभोक्ता दिवस सर्वसाधारणकै बीचमा मनाउनुपर्ने बताए । ‘धेरैभन्दा धेरै सर्वसाधारणको उपस्थितिमा दिवस मनाइनुपर्छ,’ दाहालले भने, ‘पाँचतारे होटलमा कार्यक्रम गर्ने निर्णय कसरी भयो, बुझ्न सकिएन ।’ उपभोक्ता अधिकारकर्मी पनि तारे होटलमा गरिएका कार्यक्रमले सर्वसाधारणलाई सम्बोधन गर्न नसक्ने दाबी गर्छन् । जनतामाझ जानुपर्नेमा विभागले गल्ती गरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले पनि तल्लो तहका व्यक्तिलाई सूचीकृत गर्नुपर्नेमा त्यसो नगरेर आफ्नो दायित्वबाट विभाग चुकेको प्रतिक्रिया दिए । आजको कान्तिपुर दैनिकमा खबर ।