बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कोरोना खोप लगाउन सुरुभएसँगै बैंकमा कर्जाको पनि  उच्च माग,  डेढ महिनामा २ खर्ब २५ अर्ब कर्जा प्रवाह !

मंगलबार, फाल्गुन २५ २०७७

काठमाडौं । कोरोना बिरुद्धको खोप लगाउन सुरु भएसँगै यसले लगानीकर्ताको मनोबल पनि बढाएको छ । यसअघि पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताले अहिले भटाभट ऋण लान सुरु गर्न थालेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार पुष १५ सम्ममा बैंक तथा वित्तीय क्षेत्रमा २ खर्ब बराबरको अधिक तरलता थियो । अहिले  यस्तो तरलता ६० अर्बमा सिमित भएके छ । अर्थात डेढ महिनाको अवधिमा  १  खर्ब ४० अर्ब कर्जा प्रदान भएको देखिन्छ।

साथै राष्ट्र बैंकले थप ८५ अर्ब बराबरको पुर्नकर्जा बजारमा पठाएको छ । बैंक तथा वित्तीय संस्था र राष्ट बैंकले समेत प्रवाह गरेको कर्जालाई आधार मान्ने हो भने २ खर्ब २५ अर्ब बराबरको  थप कर्जा प्रवाह छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार, साउन यता  बैंकहरुबाट प्रवाह हुने कर्जा १७ प्रतिशतले बढेको छ । साउनको सुरुवातमा ३२ खर्ब कर्जा प्रवाह भएकोमा अहिले बढेर ३७ खर्ब ५० अर्ब पुगेको छ ।

यो वर्षको आठ महिनामै साढे ५ खर्ब बराबरको कर्जा गएको छ । तर यस्तो कर्जा पुषको १५ अर्थात मध्य पुषपछि मात्रै गएको बैंकर्स बताउँछन् ।

आर्थिक गतिबिधी बढेकाले  बैंकहरुबाट प्रवाह हुने कर्जा बढेको हो । पछिल्लो समय आर्थिक गतिबिधी बढेको र यसले कर्जा बढेको राष्ट्र बैंक बताउँछ ।

अहिले आयात बढेको छ । जसका कारण आयातमा जाने कर्जामा पनि भारि बृद्धि  भएको हो । यसबाहेक अहिले घरजग्गाको कारोबारमा पनि राम्रो बृद्धि देखिएको छ । , जसले पनि ऋण प्रवाह ह्वात्तै बढाएको हो ।

साथै उद्योगधन्दा पनि चैतको तुलनामा धेरैजसो सञ्चालन आएकोले औद्योगिक गतिबिधी बढेको  राष्ट्र बैंकले  गरेको अध्ययनको निष्कर्ष छ । बिदेशी पर्यटकको आगमन हुन नसकेकाले पर्यटन बाहेक अन्य क्षेत्र पुरानै अवस्थामा फर्कन लागेका छन् ।

महामारीका बिचमा पनि बढेको आर्थिक गतिबिधीले बजारमा अधिक तरलताको स्थिती हटाएको छ।  लामो समय पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताले अहिले लगानी गर्न सुरु गरेका छन् । व्यवसाय सुचारु गर्नका लागि  समेत उनिहरुले बैंकबाट ऋण निकाल्न सुरु गरेका छन् । जसका कारण बैंकमा अहिले कर्जाको उच्च माग रहेको छ ।

पर्यटन क्षेत्रले पनि आगामी दिनमा बैंकहरुबाट कर्जा लाने संभावना छ । बिश्वभर लगाइएको कोरोना खोपका कारण अब कोरोना सामान्य हुँदै जाने र यसपछि मानिसहरु घुम्न निस्कीने हुन्छ । 

तर सरकारले भने यस्तो बेलामा पनि आफ्नो खर्च भने बढाउन सकेको छैन । नत्र यसले पनि बैंकमा रहेको कर्जाको माग ह्वात्तै बढाउँथ्यो ।  साथै राजस्व पनि उच्च मात्रामा उठाउन सकिन्थ्यो । तर सरकार आफ्ना काम कार्वाहि अघि बढाउने भन्दा पनि लामो समय  देखि सत्ता टिकाउनेमा व्यस्त छ ।