काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदका निम्ति कांग्रेस सभापति नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षसँग मिलेर सरकार बनाउन तयार भए पनि उक्त समूहको औपचारिक लिखित प्रस्तावको पर्खाइमा रहेको बताएका छन्।
बैठकमा भावी सरकार गठन, त्यसको कांग्रेसको भूमिका र नेकपा विभाजनका आयामबारे छलफल चलिरहेको सहभागी अर्का एक नेताले जानकारी दिए। बुधबार महामन्त्री शशांक कोइरालाले नेकपाको दाहाल नेपालसँग मिलेर सत्ता सहकार्य गर्नुपर्ने सार्वजनिक रुपमै बताएपछि कांग्रेसभित्र सरकारमा जाने विषयमा देखिएको मतभेद अन्त्य भएको छ।
पदाधिकारी बैठकले नेकपा विप्लव समूहसँग सरकारले एकलौटी रुपमा वार्ता र सहमति गरेको प्रति असन्तुष्टि जनाएको छ। प्रमुख प्रतिपक्षी दलको हैसियतले यस्तो गम्भीर विषयमा सरकारले जानकारी दिनुपर्ने भए पनि सञ्चार माध्यमबाटै थाहा पाउनु परेको शर्माले बताए।
उनले दश वर्षे माओवादी द्वन्द्वको समाधान गर्दा कांग्रेसले सबैलाई विश्वासमा लिएको स्मरण गर्दै अहिलेको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए।
प्रवक्ता शर्माले भने, ‘वार्ता गर्दा प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिन सकेन। जिम्मेवार ढंगले दश वर्षे द्वन्द्व समाधान गर्दा कांग्रेसले निर्वाह गरेको भूमिका जस्तो देखिएन। तीन बुँदेको विस्तृत आएपछि थप टिप्पणी हुन्छ।’