बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माण वैशाखबाट

मंगलबार, फाल्गुन १८ २०७७

नेपाल–भारत पाइपलाइन संयुक्त अध्ययन टोलीले बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइनको सम्पूर्ण अध्ययन कार्य सम्पन्न गरेसँगै पाइपलाइन निर्माण वैशाखदेखि सुरु हुने भएको छ । 

नेपाल आयल निगम ९एनओसी० र भारतीय आयल निगम (आईओसी)को संयुक्त कार्यदलले अनुमानित लागतबारे टुंगो लगाउने र नेपाल भारत सरकारबीच हुने आपसी छलफल र समझदारीपछि निर्माण सुरु हुने भएको हो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले डिटेल प्रोजेट रिपोर्ट तयार भइसकेको र सञ्चालक समितिको आगामी बैठकले गर्ने नीतिगत निर्णयसँगै आयोजनाको काम सहज रुपमा अघि बढ्ने बताए ।

निगमका अनुसार दस अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको पाइपलाइनको संयुक्त कार्यदलले लागत यकिन गरेपछि प्रशासनिक काम सँगै दुवै देशले लगानीको टुंगो लगाएपछि आयोजनाको निर्माण थालिनेछ । एनओसी र आईओसीको संयुक्त कार्यदलमा नेपालका तर्फबाट निगमका निर्देशक वीरेन्द्र गोइत र आईओसीको तर्फबाट आरबी कोठारी रहेका छन् ।

भारत सरकारले यसअघि निर्माण सम्पन्न गरेको मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको सफलतासँगै संघीय सरकारको प्राथमिकतामा रहेको अमलेखगञ्ज–चितवन पाइपलाइन विस्तारमा भारत सरकारको पूर्ण सहयोग रहने विश्वास गरिएको छ ।

अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइपलाइनलाई यसअघि सम्पन्न मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिने भएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले डिपोको लेआउट समेत सम्पन्न भइसकेको र थप विषयमा सञ्चालक समितिले निर्णय गर्ने बताए । आजको कारोबार दैनिकबाट