काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–२ रुम भिरखर्क बस्ने ३४ वर्षीय होम बहादुर पुनलाई करिब १२ किलो ८ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पुनले बाख्राको खोरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–६ मेची पुलबाट करिब ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित दमक नगरपालिका–९ बस्ने २५ वर्षीय रोशन दर्जीलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी सोही पुलबाट अबैध लागूऔषध ५ ग्राम खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ सहित विर्तामोड नगरपालिका–३ बस्ने २१ वर्षीय उदय कुमार साहलाई समेत प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा बिहीबार छुट्टाछुट्टै समयमा उक्त पदार्थ सहित उनीहरूलाई पक्राउ गरेको हो ।
तनहुँको ब्यास नगरपालिका–१२ कमलबारीबाट करिब १ किलो ६ ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका–२६ सुन्दरी बजार बस्ने गोरखा घर भएका १७ वर्षीय किशोर र कास्की महानगरपालिका–६६ बुढीबजार बस्ने पर्वत घर भएका १७ वर्षीय
किशोर रहेका छन् । ग.१७ प ४५१६ नम्बरको मोटरसाइकललाई जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुरको भिमदत्त नगरपालिका–१३ झोलुङ्गे पुलबाट करिब २ ग्राम ४ सय ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन र करिब १ ग्राम १ सय ४० मिलिग्राम अवैध लागूऔषध चरेश सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वेदकोट नगरपालिका–१० बस्ने ३० वर्षीय महेश बिष्ट र सोही नगरपालिका–९ बस्ने २३ वर्षीय पुष्पमणि थापा रहेका छन् । से.२ प ३० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी झोलुङ्गेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक बिष्ट र मोटरसाइकलमा सवार थापालाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।