बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषधसहित पक्राउ 

मंगलबार, फाल्गुन ११ २०७७

काठमाडौं महानगरपालिका १६ बालाजुस्थित सडकबाट १३.५ ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु सहित बारा आदर्श कोतवाल गाउँपालिका ३ ठेगाना भएका १९ वर्षीय रितिक कुमार यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले रितिकलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उनी उपर लागूऔषध अफिम मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ । 
मोरङको बिराटनगर महानगरपालिका १६ दुर्गा मन्दिर नजिकबाट करिब ३ ग्राम ९ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित उदयपुर कटारी नगरपालिका ७ तकिया बस्ने २१ वर्षीय रुपेश फुयाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । को.२ ह ३७२९ नम्बरको टेम्पोलाई लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्दा टेम्पोभित्र लुकाई ल्याएको उक्त खैरो हेरोइन सहित फेला पारी टेम्पो चालक रुपेशलाई पक्राउ गरेको हो । 
सुनसरीको ईटहरी उपमहानगरपालिका ११ खनारबाट करिब ९ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ सिमरवना बस्ने २२ वर्षीय मिथिलेश बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय 
ईटहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । साथै फरार रहेका मोरङ बस्ने २७ वर्षीय श्री चौधरीको प्रहरीले खोजी गरिरहेको छ  । 
महोत्तरीको जलेश्वर नगरपालिका ३ रातो पुल नजिकैबाट करिब ३० किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर भएका २१ वर्षीय बिजय पासवान र सोही ठाउँ घर भएका २० वर्षीय गुडु कुमार रहेका छन् । प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।