सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सूचनाको हकको दुरुपयोग भयो, छिट्टै निर्देशिका ल्याउँछाैं : मन्त्री गुरुङ

बुधबार, माघ २८ २०७७

काठमाडाै‌ं : सञ्चार, सुचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले संविधानले दिएको सूचनाको हकको दुरुपयोग भएको भन्दै स्वतन्त्रताको आडमा छाडा काम भइरहेको प्रतिक्रिया दिए। 

‘सञ्चार क्षेत्रमा जुन किसिमको स्वतन्त्रता छ सूचनाको हकको ग्यारेन्टी गरेको छ संविधानले दिएको हकको पूर्ण पालना गर्न नेपाल सरकार प्रतिबद्ध छ, उनले भने, ‘तर हाम्रा अभिव्यक्तिहरू स्वतन्त्रताको आडमा छाडा उत्तेजित र व्यक्तिकेन्द्रित अदालत र राष्ट्रपतिप्रति केही सामाजिक सञ्जाल र जिम्मेवारी बोकेका अनलाइनले प्रसारण गर्ने गरेको पाइएको छ।’

लोकतान्त्रिक शक्तिमाथि प्रहार गर्ने र हिंसा फैलाउने कार्य भइरहेकाले यस्तो अभिव्यक्ति सार्वजनिक गर्ने माध्यम खेदजन्य भएको उनले बताए। मन्त्री गुरुङले यस्ता गतिविधि रोक्न छिट्टै सामाजिक सञ्चालनसम्बन्धी निर्देशिका २०७७ जारी गर्ने तयारीमा सरकार रहेको प्रस्ट पारे। 

यस्ता कार्यले समाजलाई विकृति र अराजकतातर्फ धकेलेको उनको ठहर थियो। 

मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न मन्त्रालयमा अयोजित नियमित पत्रकार सम्मेलनमा उनले निर्वाचनका लागि सरकार तयार रहेको सन्देश दिन (अनुरोध गर्न) प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालय पुगेको बताएका हुन्।

मन्त्री गुरुङले निर्वाचनको लागि सबै कामहरू भइरहेकाले निर्वाचनविरुद्ध गतिविधि गर्नु व्यर्थ रहेको पनि बताए। आधिकारिक पार्टी र सूर्य चिह्नबारे अहिलेसम्म पनि विवाद नटुंगिएको भन्ने पत्रकारको प्रश्नमा उनले नेकपाको प्रचण्ड–माधव समूहले जबरजस्ती दाबी गरिरहेको जनाए। 

निर्वाचनको मिति तोकिसकेको अवस्थामा पनि अर्को समूहले दाबीविरोध गर्नु निर्वाचन आयोगको कानून, नीति नियम र व्यवस्था विपरित रहेको उनको भनाइ छ। जुन दलको अध्यक्ष एवं प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको घोषणा गरेको छ उसैलाई मात्र निर्वाचन आयोगले चिनेको भन्दै उनले आयोगले नचिनेको अध्यक्ष माधवकुमार नेपालले दाबी विरोध गर्नु कानुन र विधिसम्मत छ त्यो हामी आफैंले बुझ्नुपर्ने तर्क गरे।