बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पार्टी आधिकारिकता दाबी गर्न प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै

मंगलबार, माघ २७ २०७७

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाँदै छन्।

बिहान ११ बजे ओली आयोगको कार्यालय जाने स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए।  उनका अनुसार प्रधानमन्त्री ओलीले आयोग पुगेर निर्वाचन तयारीका बिषयमा कुराकानी गर्नेछन्। यस्तै ओलीले पार्टीको विवादका बिषयमा पनि आयोगसमक्ष कुरा गर्ने बताइएको छ।

नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो । प्रचण्ड-माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरे पनि प्रधानमन्त्रीसमेत रहेका ओली गएका थिएनन् ।

नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गररे आगामी बैसाखमा मध्यावधि निर्वाचनको मिति तय भएपछि नेकपा दुई भागमा विभाजन भएको छ। पार्टी विभाजन पछि दुबै पक्षले आफु नै आधिकारिक भएको दावी गर्दै आएका छन्। पार्टीको विवाद सम्बन्धि दुबै पक्षले आयोगमा निवेदन पनि दिएका थिए। तर ति निवेदन आयोगले खारेज गरिदिएको थियो।

त्यसपछि, आयोगले नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो। तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए । प्रचण्ड माधव समूहले पत्र लेखेर फर्किएको थियो भने ओली पक्षका नेताहरुले छलफल गरेका थिए। त्यसपछि पार्टीको आधिकारिकता दाबी गर्न अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाललगायतका नेताहरू आयोग पुगेका थिए ।