काठमाडौं । अहिले नेपाल राष्ट्र बैंकसँग रहेको बैदेशिक मुद्रा सञ्चिीतिले साढे १४ महिनाको आयात धान्छ । आयातका लागि बाहिरिने रकममा कमि आएसँगै यस्तो बैदेशिक सञ्चिति पछिल्लो समय बढेको हो ।
२०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.२ प्रतिशतले वृद्धि भई २०७७ मंसिर मसान्तमा १४ खर्ब ७४ अर्ब ३४ करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ मंसिर मसान्तमा ७.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ५४ करोड पुगेको छ ।
आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.४ महिनाको वस्तु आयात र १३.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले सार्र्वजनिक गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ।
विदेशमा जाने रकम भन्दा उताबाट आउने रकममा बृद्धि भएसँगै देशको सोधानान्तर स्थितीमा उल्लेखिय सुधार आएको छ। दुई वर्ष अघिसम्म घाटामा रहेको यस्तो स्थिती गत वर्षदेखि मात्रै बचतमा रहन सुरु गरेको हो ।
यो वर्ष त मंसिर मसान्तसम्म शोधनान्तर स्थिति १० खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले मात्रै बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ५९ लाखले बचतमा रहेको शोधनान्तर स्थिति मंसिर मसान्तसम्म ८९ करोड ६५ लाखले बचतमा रहेको छ ।
यसरी सोधानान्तर स्थिती सुधार आउदा यसले समग्र विदेशी मुद्रा भने बढाएको छ ।
यस्तै मंसिर मसान्तसम्म विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भई ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो ।
तर मंसिर मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो ।
यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो ।
तर यता खुद प्रत्यक्ष वैदेशिक लगानी ३१.५ प्रतिशतले कमी आई ४ अर्ब ५० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५७ करोड रहेको राष्ट्र बैंक बताउँछ ।