कास्की । भोटेकोशी बाढीमा बेपत्ता भएको २२ दिनसम्म पनि छोरीको कुनै खबर नआएपछि पोखरा महानगरपालिका–५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको परिवारले अन्ततः अन्तिम संस्कार गरेको छ।
काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत सृष्टि भदौ ९ गते अन्य दुई साथीसँग नुवाकोटस्थित अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इन्टर्नसिपका लागि पुगेकी थिइन्। त्यसको भोलिपल्ट आएको विनाशकारी बाढीपछि उनी सम्पर्कविहीन भएकी थिइन्।
छोरीको खोजीमा उनका बुबा माधव बास्तोला दुईपटक रसुवा र नुवाकोट पुगे। बाढीले पुर्याएको भयावह क्षति देखेपछि सकुशल फर्किने सम्भावना न्यून देखिए पनि परिवारले लामो समयसम्म आशा छाडेन।
तर घटना भएको २२ दिनसम्म पनि सृष्टिको कुनै खबर नआएपछि परिवारले अन्तिम संस्कार गर्ने निर्णय गरेको हो। पोखराको तुलसीघाटमा कुशको शवको प्रतिमा बनाएर सृष्टिको अन्त्येष्टि गरिएको छिमेकी वसन्तराज गौतमले जानकारी दिए।
“बाढी आउनुअघि भदौ ९ गते साँझमात्र सृष्टि नुवाकोट पुगेकी रहिछन्। बिहान परिवारसँग कुराकानी भएको रहेछ। त्यसपछि कुनै जानकारी प्राप्त भएन,” गौतमले भने, “कतै अप्ठ्यारो ठाउँमा भएर सम्पर्क हुन नसकेको होला भन्ने आसमा थियौँ। तर लामो समयसम्म अवस्था पत्ता नलागेपछि परिवार अन्तिम संस्कार गर्ने निचोडमा पुगेको हो।”
देशको दक्ष प्राविधिक जनशक्ति बन्ने सपना बोकेर इन्टर्नसिपका लागि आयोजनास्थल पुगेकी सृष्टिको सपना बाढीसँगै अधुरो बनेको छ। अध्ययन पूरा गरेर देश निर्माणमा योगदान दिने उमेरमै उनी बेपत्ता भएपछि परिवार, आफन्त र छिमेकी शोकमा डुबेका छन्।
वडाध्यक्ष विष्णुप्रसाद बरालले सृष्टिको असामयिक घटनाले सबैलाई स्तब्ध बनाएको बताए।
“होनहार छोरी, परिवारको आशा र देशको सम्भावना बोकेकी सृष्टिको असामयिक निधनले सबैलाई स्तब्ध बनाएको छ,” उनले भने।
सृष्टिजस्तै अरू परिवार पनि अन्तिम संस्कार गर्न बाध्य
भोटेकोशी बाढीमा बेपत्ता पोखरा महानगरपालिका–१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारी क्षेत्रीको परिवारले पनि कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेको छ।
टिमुरेस्थित भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत अधिकारी बाढी आएको दिनदेखि सम्पर्कविहीन छन्। लामो समयसम्म सम्भावित स्थानमा खोजी गर्दा पनि अवस्था पत्ता नलागेपछि परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार अन्तिम संस्कार गरेको छिमेकी घनश्याम पाण्डेले बताए।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका पोखराका अझै १२ जनाको अवस्था अज्ञात छ।
बेपत्ता आफन्तको खोजीका लागि परिवारहरूले सम्भावित स्थानमा पुगेर खोजी गरे पनि लामो समयसम्म कुनै जानकारी नआएपछि केही परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका हुन्।
लमजुङका दुई परिवारले पनि छाडे खोजीको आश
भोटेकोशी बाढीमा बेपत्ता बेँसीसहर नगरपालिका–११ का झपटबहादुर घर्ती र उनकी श्रीमती राधिका घर्तीको पनि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ।
भदौ १० गतेदेखि सम्पर्कविहीन रहेका दम्पतीको सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि अवस्था पत्ता नलागेपछि परिवारले काजकिरिया सुरु गरेको भतिज विशाल घर्तीले बताए।
“खोज्नुपर्ने सबै ठाउँमा खोजिसक्यौँ। अब उपाय बाँकी रहेन। काजकिरिया सुरु गरेका हौँ,” उनले भने।
४५ वर्षीय झपटबहादुर र ४३ वर्षीया राधिका रसुवास्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए। बाढीपछि दुवैजना सम्पर्कविहीन भएका थिए। परिवार तथा सम्बन्धित निकायले सम्भावित स्थानमा खोजी गरे पनि उनीहरूको शव फेला परेको छैन।
यस्तै, सोही बाढीमा बेपत्ता मस्र्याङ्दी गाउँपालिका–३ खुदीकी रमिला भण्डारीको अवस्था पनि हालसम्म अज्ञात छ। सबइन्जिनियरका रूपमा माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत भण्डारीको पनि संस्कारअनुसार काजकिरिया सम्पन्न भइसकेको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार भोटेकोशी बाढीमा जिल्लाका १० जना बेपत्ता भएका छन्।