बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

तीनदिने भ्रमणका लागि अर्थमन्त्री वाग्ले भारत प्रस्थान

बिहिबार, असोज १ २०८३

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणका लागि बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहान ७ः३५ बजेको उडानबाट काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्।

भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणसँगै नेपाल–भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विभिन्न विषयमा छलफल हुने बताइएको छ। भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी तथा नेपाली राजदूतावास, नयाँदिल्लीका उपनियोग प्रमुख डा. सुरेन्द्र थापालगायत सहभागी छन्।

भ्रमण तालिकाअनुसार अर्थमन्त्री वाग्लेले बिहीबार साँझ ५ बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन्। शुक्रबार बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। त्यसपछि साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। साँझ ७ः३० बजे भारत व्यापार संवद्र्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री वाग्ले सहभागी हुनेछन्।

शनिबार बिहान ९ः३० बजे भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा अर्थमन्त्री वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। त्यसैगरी, बिहान ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। भ्रमण सम्पन्न गरी अर्थमन्त्री वाग्ले शनिबार दिउँसो ४ बजे स्वदेश फर्कनेछन्।