काठमाडौँ । आज नेपालभर विश्वकर्मा पूजा, वास्तु दिवस तथा विश्वकर्मा पर्व मनाइँदैछ। आश्विन सङ्क्रान्तिका दिन विशेषगरी कालिगढ, श्रमिक तथा विभिन्न कलकारखानामा कार्यरत व्यक्तिले भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्ने परम्परा छ।
यस अवसरमा कलकारखाना तथा कार्यस्थललाई सजाएर विश्वकर्माको तस्बिर वा मूर्ति स्थापना गरी पूजा गरिन्छ। कालिगढले दैनिक काममा प्रयोग गर्ने औजार, मेसिन तथा इञ्जिन जडान भएका सवारीसाधनको समेत पूजा गर्ने गरेका छन्।
धार्मिक विश्वासअनुसार विश्वकर्माको पूजा गर्दा औजार तथा उपकरण लामो समयसम्म टिक्ने, कामका क्रममा नबिग्रने र राम्रोसँग काम गर्न सकिने गुण प्राप्त हुन्छ। पूजापछि बालुवा तथा अन्य सामग्रीबाट बनाइएको विश्वकर्माको मूर्ति सुन्दरीजललगायत शुद्धस्थलमा लगेर विसर्जन गर्ने चलन पनि छ।
धार्मिक कथनअनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसबाट जोगाउन विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेका थिए। एकै रातमा समुद्रको बीचमा द्वारका निर्माण गरेको विश्वासका कारण विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मान्दै पूजा गर्ने परम्परा सुरु भएको प्रा. तोयराज नेपाल बताउँछन्।
प्राचीन भारतवर्षमा चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा मानिने विश्वास छ। विश्वकर्माले निर्माण गरेको भनिएको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको धार्मिक विश्वास छ।
विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रूपमा समेत लिइन्छ। वास्तुशास्त्री शिव पोखरेलका अनुसार ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रसम्बन्धी ग्रन्थ विश्वकर्माले नै रचना गरेको विश्वास गरिन्छ।
यही धार्मिक तथा सांस्कृतिक विश्वासका आधारमा नेपालका कालिगढले विश्वकर्माको पूजा गरी उहाँको विद्वता र सीपको सम्मान गर्ने गरेका छन्। विश्वकर्माको पूजा गरेमा आफूमा पनि उहाँका गुण प्राप्त हुने धार्मिक विश्वासका कारण औजार, मेसिन तथा सवारीसाधनको पूजा गर्ने चलन रहेको छ।
यसैगरी वास्तुशास्त्रका पुस्तकका लेखक तथा अध्येताको योगदानको सम्झनामा वास्तुविद्हरूले आजको दिनलाई वास्तु दिवसका रूपमा मनाउने गरेका छन्।
पछिल्लो समय नेपालमा वास्तुविद्याप्रति चासोसमेत बढ्दै गएको छ। चार उपवेदमध्ये एक मानिने स्थापत्यवेदमा वास्तुशास्त्रसम्बन्धी विषय उल्लेख रहेको बताइन्छ। लोपोन्मुख अवस्थामा रहेको स्थापत्यवेदमा आधारित सहर तथा आवास निर्माण गर्ने अभ्याससमेत विस्तार हुन थालेपछि नेपालमा वास्तुविद्याको महत्व बढ्दै गएको विज्ञहरूको भनाइ छ।