बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

घरजग्गा कारोबारमा सुधार

वार्षिक कारोबार रकम सात खर्ब नाघ्यो

मंगलबार, भाद्र ३० २०८३

आर्थिक वर्ष २०८२/८३ मा नेपालमा घरजग्गा कारोबारमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा वर्षमा घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष घरजग्गा कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो।

समीक्षा वर्षको चौथो त्रैमासमा भने घरजग्गा कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही त्रैमासमा कारोबार वृद्धि १४.६५ प्रतिशत रहेको थियो। यसले पछिल्लो समय घरजग्गा बजारमा कारोबारको गति सकारात्मक दिशातर्फ गएको देखाएको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा लिखत पारितअन्तर्गतको घरजग्गा कारोबार संख्या १२.२८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार १५.४५ प्रतिशतले बढेको थियो। त्यसैगरी, लिखत पारितअन्तर्गतको राजीनामा कारोबार संख्या समीक्षा अवधिमा २२.८८ प्रतिशतले बढेको छ, जबकि अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो वृद्धि ८.१५ प्रतिशत मात्रै थियो।

कारोबारको क्षेत्रफल पनि बढ्यो

घरजग्गा कारोबारमा प्रयोग भएको कुल क्षेत्रफल पनि समीक्षा अवधिमा उल्लेख्य बढेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा घरजग्गा कारोबार भएको कुल क्षेत्रफल १५.४१ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो ।

कारोबारको संख्या र क्षेत्रफलसँगै घरजग्गाको कुल कारोबार रकम पनि ठूलो परिमाणमा बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा कारोबारको कुल टर्नओभर ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ रहेको थियो । चौथो त्रैमासमा मात्रै घरजग्गा कारोबारको कुल टर्नओभर २ खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो।

सरकारको राजस्व संकलनमा पनि वृद्धि

घरजग्गा कारोबार बढेसँगै यस क्षेत्रबाट सरकारलाई प्राप्त हुने राजस्वमा पनि उल्लेख्य वृद्धि भएको छ । समीक्षा अवधिमा घरजग्गा कारोबारबाट संकलन भएको राजस्व ४८.२६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो राजस्व वृद्धि २३.४५ प्रतिशत रहेको थियो ।

त्यस्तै, घरजग्गा कारोबारबाट संकलित पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पुँजीगत लाभकर २९.९८ प्रतिशतले बढेको थियो।

घरजग्गामा बैंक कर्जा प्रवाह बढ्यो

घरजग्गा कारोबारमा आएको सुधारसँगै बैंक तथा वित्तीय संस्थाबाट यस क्षेत्रमा प्रवाह हुने कर्जामा पनि वृद्धि भएको छ । समीक्षा अवधिमा घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा, आवासीय घरजग्गा कर्जासहित, ६.९३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कर्जा वृद्धि ५.८६ प्रतिशत रहेको थियो।

बागमतीमा सबैभन्दा बढी कारोबार वृद्धि

प्रदेशगत रूपमा हेर्दा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा घरजग्गाको राजीनामा कारोबार संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै ६९.३८ प्रतिशतले बढेको छ । मधेश प्रदेशमा भने यस्तो कारोबार संख्या ३.४४ प्रतिशतले घटेको छ। अन्य सबै प्रदेशमा घरजग्गा कारोबार संख्या बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

कारोबार भएको कुल क्षेत्रफलका आधारमा पनि बागमती प्रदेश अगाडि रहेको छ । समीक्षा अवधिमा बागमतीमा कारोबार क्षेत्रफल ५०.२४ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा सबैभन्दा बढी ६.१९ प्रतिशतले घटेको छ।