काठमाडौँ । न्याय परिषद्ले उच्च तथा जिल्ला अदालतमा न्यायाधीश नियुक्ति र सरुवा गरेको छ ।
परिषद्को आज बसेको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालत सुर्खेतको न्यायाधीशमा नियुक्त गरी पदस्थापन गरेको छ ।
त्यस्तै, कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेलाई उच्च अदालत जनकपुर र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरको न्यायाधीशमा नियुक्त गरिएको छ ।
परिषद्ले १५ जना जिल्ला न्यायाधीशको सरुवा समेत गरेको छ । यस्तै, सर्वोच्च अदालतका इजलास अधिकृत भरतकुमार दाहाललाई कैलाली जिल्ला अदालतको न्यायाधीशमा नियुक्त गरिएको छ ।
परिषद्को बैठकले अदालतमा न्यायिक जनशक्ति व्यवस्थापन तथा कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले नियुक्ति तथा सरुवासम्बन्धी निर्णय गरेको हो ।