बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

ऋषिपञ्चमीमा ऋषेश्वर मन्दिरमा भक्तजनको भीड, सप्तऋषि र अरुन्धतीको पूजा

मंगलबार, भाद्र ३० २०८३

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज श्रद्धा र भक्तिपूर्वक ऋषिपञ्चमी पर्व मनाउँदैछन् । ऋषिपञ्चमीका अवसरमा देशभरका विभिन्न धार्मिक तथा तीर्थस्थलमा पूजा–आराधना गर्ने भक्तजनको भीड लागेको छ ।

काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि सप्तऋषि तथा अरुन्धतीको पूजा–आराधना गर्न भक्तजनको उल्लेख्य भीड लागेको छ । विशेषगरी महिलाहरूले यस दिन पवित्र स्नान गरी सप्तऋषि र अरुन्धतीको विधिपूर्वक पूजा–आराधना गर्ने तथा व्रत बस्ने धार्मिक परम्परा रहँदै आएको छ ।

धार्मिक मान्यताअनुसार ऋषिपञ्चमीका दिन कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ गरी सप्तऋषिको पूजा गरिन्छ । महिलाहरूले वर्षभरि जानेर वा नजानेर भएका धार्मिक तथा सामाजिक त्रुटिको प्रायश्चित्तका रूपमा समेत ऋषिपञ्चमीको व्रत तथा पूजा गर्ने परम्परा रहेको मानिन्छ ।

ऋषिपञ्चमीलाई तीज पर्वको अन्तिम दिनका रूपमा समेत लिइन्छ । श्रद्धा र आस्थाका साथ मनाइने यस पर्वले नेपाली समाजमा धार्मिक परम्परा, संस्कार तथा सांस्कृतिक निरन्तरताको महत्व बोकेको छ ।