बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ देखि गाडी चलाउने तयारी

मंगलबार, भाद्र ३० २०८३

नारायणगढ  । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि निर्माण थालिएको नयाँ ट्र्याक अन्तिम चरणमा पुगेको छ। निर्माणको काम तीव्र पारिएसँगै असोज १ गतेदेखि नियमित यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।

आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सकिएपछि नयाँ ट्र्याकमा केही सवारीसाधन परीक्षणका रूपमा सञ्चालन गरिएको थियो। परीक्षण सफल भएपछि बाँकी निर्माण कार्यलाई तीव्रता दिइएको हो।

नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार सोमबार ११औँ दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ।

“सम्भवतः असोज १ गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाइरहेका छौँ,” नेपालले भने ।

निर्माणको सुरुवाती चरणमा ९ देखि १० दिनसम्म ११–१२ वटा उपकरण परिचालन गरिएको थियो। अहिले काम अन्तिम चरणमा पुगेकाले करिब ४०–५० जना दक्ष तथा अदक्ष मजदुर खटिएका छन्। आवश्यकताअनुसार ग्रेडर, रोलर र एक्साभेटरसहित पाँच–छ वटा हेभी उपकरण प्रयोग भइरहेका छन्।

३०० मिटरको ट्र्याक, सात मिटर चौडा सडक

हाल नयाँ ट्र्याकमा नदीको गेग्रान प्रयोग गरी ग्राभेलिङ भइरहेको छ। सडकको कुनामा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई बेरेर माथि टिक ड्रेन बनाउने काम पनि भइरहेको छ।

सब–बेसको अन्तिम तह निर्माण भएपछि सडक यातायात सञ्चालनका लागि तयार हुने निर्माण कम्पनीले जनाएको छ।

करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक निर्माण गरिएको छ। नालीसहित यसको कुल संरचना करिब साढे सात मिटरको रहेको इन्जिनियर नेपालले बताउनुभयो।

“यो खण्ड अलिकति जोखिमपूर्ण छ। थप पहिरो नआएमा तोकिएको समयमै यातायात सञ्चालन हुन्छ,” उहाँले भन्नुभयो।

परीक्षणका लागि मात्रै गाडी चलाइएको हो

नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रका अनुसार आइतबार नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि अहिले फिनिसिङको काम भइरहेको छ।

आइतबार केही सवारीसाधनलाई परीक्षणका लागि मात्र नयाँ ट्र्याकबाट पास गराइएको र हाल ट्र्याक पूर्णरूपमा बन्द रहेको उनले स्पष्ट पारे ।

“सर्वसाधारण नयाँ ट्र्याक खुला गरिएको भ्रममा नपर्नुहोला। परीक्षणका लागि मात्र हिजो केही सवारीसाधन पास गराइएको हो,” मिश्रले भने।

थप समस्या नआएमा असोज १ गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्र्याकबाट नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने योजना रहेको उनले भने।