ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको अमूल्य सांस्कृतिक धरोहर भएको बताएका छन्।
हरितालिका तीजका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न एक विविधतायुक्त मुलुक भएको उल्लेख गरेका छन्। चाडपर्वहरू केवल उत्सव मनाउने माध्यम मात्र नभई पुस्तौँदेखि सामाजिक जीवन, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई एकापसमा जोड्ने गतिलो सूत्र भएको उनको भनाइ छ।
सन्देशमा भनिएको छ,“चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएका छन्। हाम्रा चाडपर्वले नेपाली समाजको सांस्कृतिक मौलिकता, पारिवारिक सम्बन्ध र सामाजिक सद्भावलाई मज्बुद बनाउँदै आएका छन्।”
अन्तमा, हरितालिका तीज पर्वले सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि र आत्मीयता थपोस भन्दै सभापति थापाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।