बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

आइतबार, भाद्र २८ २०८३

रुकुम पश्चिम  । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा आज बिहान भएको जिप दुर्घटनामा मृत्यु हुने दुवै जनाको सनाखत भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका–१ रुघाका सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार थप दुई घाइतेको उद्धारका लागि हेलिकप्टर आउँदैछ।

अन्य घाइतेको उपचार सानीभेरी गाउँपालिका अस्पताल सिम्लीमा भइरहेको छ।

प्रहरीका अनुसार दुर्घटनामा परेको जिपमा चालकसहित १३ जना सवार रहेको खुलेको छ। यसअघि प्रारम्भिक सोधपुछका क्रममा ११ जना मात्रै सवार रहेको सूचना प्राप्त भएको थियो।

“जिपमा चालकसहित १३ जना सवार रहेको अनुसन्धानका क्रममा जानकारी भएको छ। सम्बन्धित निकायमा सोधपुछ तथा अनुसन्धानलाई तीव्र बनाएपछि यात्रुको सङ्ख्या १३ रहेको पुष्टि भएको हो,” प्रहरी नायब उपरीक्षक पौडेलले भने ।

जिपमा सवार सबै यात्रुको पहिचान भने अझै खुलिनसकेको प्रहरीले जनाएको छ।

सडकबाट ५० मिटर तल खस्यो जिप

सानीभेरी गाउँपालिका–६ कोटगाउँबाट सानीभेरीकै सिम्लीतर्फ आउँदै गरेको लु१च ६०२९ नम्बरको जिप देउताखोलामा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिप सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।