बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आज दर खाएर सुरु हुँदैछ तीज, व्रतका लागि शक्ति सञ्चय गर्ने परम्परा

आइतबार, भाद्र २८ २०८३

काठमाडौँ  । नेपाली महिलाको प्रमुख पर्व हरितालिका (तीज) आज दर खाएसँगै औपचारिक रूपमा सुरु हुँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन आज साँझ दर खाने र भोलिपल्ट निराहार व्रत बस्ने परम्पराअनुसार बर्तालु महिलाले व्रतका लागि शक्ति सञ्चय गर्न दर खाने तयारी गरेका छन्।

तीजको पहिलो दिन माइती पक्षले चेलीबेटी, दिदीबहिनीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरका रूपमा विशेषगरी दूधबाट बनेका परिकार, गहुँको रोटी, घिउलगायत आडिला तथा पौष्टिक खाद्य पदार्थ खाने गरिन्छ। धर्मशास्त्रविद्का अनुसार दर राति दुई प्रहर जानुअघि नै खाइसक्नुपर्ने शास्त्रीय विधान छ।

निराहार व्रतअघि दर खाने परम्परा

हरितालिकाको मुख्य दिन भाद्र शुक्ल तृतीयामा महिलाले निराहार व्रत बस्ने भएकाले त्यसको अघिल्लो साँझ दर खाने चलन बसेको हो। माइती तथा दाजुभाइले छोरी, चेली र दिदीबहिनीलाई घरमा बोलाएर दर खुवाउने प्रचलन नेपाली समाजमा अझै कायम छ।

तीजलाई महिलाले वर्षभरिका दुःख, पीर, मर्का र अनुभव गीत तथा भेटघाटमार्फत व्यक्त गर्ने अवसरका रूपमा पनि लिने गरेका छन्। जन्मघर छाडेर कर्मघरमा पुगेपछि भोगेका सुखदुःखलाई तीजका गीतमार्फत सार्वजनिक गर्ने परम्परा लामो समयदेखि चलिआएको छ।

पछिल्ला वर्षमा तीजका नाममा बढ्दै गएको तडकभडक र उच्छृङ्खल गतिविधिप्रति संस्कृतिविद् तथा समाजशास्त्रीले चिन्ता व्यक्त गरेका छन्। एक महिनाअघिदेखि नै दर खाने, महँगा गरगहना तथा पोसाक प्रदर्शन गर्ने प्रवृत्तिले तीजको मौलिक संस्कृति प्रभावित हुँदै गएको उनीहरूको भनाइ छ।

भाद्र शुक्ल तृतीयाको अघिल्लो साँझ व्रतका लागि शक्ति सञ्चय गर्न दर खाने परम्परा भए पनि पछिल्लो समय महिनौँअघिदेखि दर खाने चलन बढेको छ। यसले हुने र नहुनेबीचको सामाजिक दूरीसमेत बढाउने भएकाले यस्तो प्रवृत्ति नियन्त्रण गर्नुपर्ने संस्कृतिविद् तथा धर्मशास्त्रीको सुझाव छ।

सरकारी कार्यालय तथा संस्थाहरूमा समेत तीज कार्यक्रमका नाममा लामो समयअघि नै तामझाम हुने प्रवृत्ति बढेको भन्दै विज्ञहरूले सरकारी निकायले नै विकृतिलाई प्रोत्साहन गर्न नहुने बताएका छन्।

दर खाएपछि सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत तथा पूजा गरिन्छ भने चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्व समापन हुने धार्मिक मान्यता छ।

यस वर्ष भदौ ३० गते गणेश चौथी र ऋषि पञ्चमी पर्व मनाइने स्वीकृत पात्रोमा उल्लेख छ। गणेश चौथी प्रातःकालमा चतुर्थी तिथि परेको दिन मनाउने र ऋषि पञ्चमी मध्याह्नकालमा पञ्चमी तिथि परेको दिन मनाउने शास्त्रीय व्यवस्था रहेको छ।

हरितालिका तीजको धार्मिक तथा पौराणिक सम्बन्ध भगवान् शिव र पार्वतीसँग जोडिएको छ। पौराणिक कथाअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले भगवान् महादेवलाई पति पाउने उद्देश्यले कठोर तपस्या गरेकी थिइन्।

पिता हिमालयले पार्वतीको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि उनका साथीहरूले पार्वतीलाई हरण गरी कसैले नदेख्ने स्थानमा लगेर लुकाएको र त्यहीँ उनले निराहार व्रत बसेर महादेवलाई पति रूपमा प्राप्त गरेको कथा पुराणमा उल्लेख छ।

साथीहरूले पार्वतीलाई हरण गरेको दिन भाद्र शुक्ल तृतीया भएकाले यही दिनदेखि हरितालिका तीजको व्रत लिने परम्परा सुरु भएको धर्मशास्त्रीय मान्यता छ।

तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा महिलाको ठूलो भीड लाग्ने गर्छ। यस अवसरमा महिलाहरू पुराना साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी वर्षभरिका सुखदुःख साटासाट गर्ने गर्छन्।

तीज सुरु भएसँगै रेडियो, टेलिभिजन तथा अन्य सञ्चारमाध्यममा तीजका गीत गुञ्जिन थालेका छन्। तीजपछि नेपालीको प्रमुख पर्व बडादसैँ र तिहारसमेत क्रमशः नजिकिँदै जाने भएकाले नेपाली समाजमा पर्वको माहोल थप उत्साहपूर्ण बन्ने गरेको छ।