शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

कांग्रेसको महाधिवेशनमा कसैलाई वञ्चित गरिएको छैन : सभापति थापा

शुक्रबार, भाद्र २६ २०८३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सहभागी हुनबाट कुनै पनि नेता–कार्यकर्तालाई वञ्चित नगरिएको दाबी गरेका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार नै सम्पन्न हुने र सबै नेता–कार्यकर्ताले सहभागिता जनाउन पाउने बताएका हुन् ।

उनका अनुसार आगामी असोज ४ गतेदेखि तल्लो तहका अधिवेशन प्रक्रिया सुरु हुनेछ भने असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन प्रारम्भ हुनेछ।

सभापति थापाले महाधिवेशनमा सबैलाई सहभागी गराएर प्रतिस्पर्धाको अवसर प्रदान गरिने बताउँदै नेतृत्वमा निर्वाचित हुनेलाई जिम्मेवारीमा राखेर प्रतिस्पर्धामा जिम्मेवारी नपाउने नेता–कार्यकर्तालाई समेत समेट्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्ने धारणा राखे ।

उनले भने, “कोही साथीलाई महाधिवेशनमा भाग लिने कुराबाट वञ्चित गरिएको छैन। सबै साथीहरू महाधिवेशनमा सहभागी हुनुहुन्छ र प्रतिस्पर्धा हुन्छ।”

सभापति थापाले आन्तरिक प्रतिस्पर्धाबाट पार्टीभित्रका विषय व्यवस्थापन गर्न सकिए पनि नागरिकसँग टुटेको विश्वास पुनःस्थापित गर्नु कांग्रेसको मुख्य चुनौती रहेको बताए ।

पार्टीभित्र देखिएका समस्यामा मात्र केन्द्रित भइरहँदा नागरिकसँगको सम्बन्ध थप कमजोर हुन सक्ने उल्लेख गर्दै उनले कांग्रेस यस विषयमा गम्भीर रहेको बताए ।