काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को जोखिमपूर्ण मुलुकको सूची अर्थात् ‘ग्रे लिस्ट’बाट चाँडोभन्दा चाँडो बाहिर निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको बताएका छन् ।
शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न अन्तर्राष्ट्रिय समुदायमा समेत पहल भइरहेको जानकारी दिए ।
उनले नेपालको पक्षलाई बलियो ढङ्गले प्रस्तुत गर्न राष्ट्र बैंकका डेपुटी गभर्नर, महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्तासहित पाँच–छ जनाको विशेष टोली परिचालन गरिएको बताउनुभयो। उक्त टोली हाल मलेसियामा रहेर काम गरिरहेको उनले जानकारी दिए।
एफएटीएफकै विषयमा अमेरिकी अर्थमन्त्रीसँग भेट गर्ने प्रयास आफूले गरिरहेको पनि अर्थमन्त्री वाग्लेले बताउनुभयो। नेपाल समयमै ग्रे लिस्टबाट बाहिरिन नसके त्यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयता, करेस्पोन्डेन्ट बैंकिङ, लगानी वातावरण तथा पुँजी प्रवाहमा पर्ने भएकाले सरकार गम्भीरतापूर्वक अघि बढिरहेको उनको भनाइ छ।
ग्रे लिस्टबाट बाहिरिने विषयमा सरकारले चालिरहेका कदमबारे विभिन्न अफवाह फैलाउने काम भइरहेको उल्लेख गर्दै उनले जिम्मेवार ढङ्गले विषय उठाउन आर्थिक पत्रकारलाई आग्रह गरे।
अर्थमन्त्री वाग्लेले लामो समयदेखि टारिँदै आएका सुधारका कामलाई सरकारले अघि बढाइरहेको बताउँदै आवश्यक सुधारका क्रममा आलोचना तथा दबाब आए पनि पछि नहट्ने स्पष्ट पारे।
उनले प्राकृतिक विपद्बाट भएको क्षति तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको जानकारी दिए। पुनर्निर्माणलाई पुरानै संरचना पुनःनिर्माण गर्ने अवसरका रूपमा मात्र नभई जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्ने सरकारको नीति रहेको उनले बताए।