काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनुभएको छ।
शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति तथा निर्णयले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको देखाएको टिप्पणी गरे ।
उनले प्रधानमन्त्रीले मुलुकको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्ने भए पनि त्यसतर्फ पर्याप्त ध्यान जान नसकेको बताए।
सभापति थापाले दुग्ध विकास संस्थान, हेटौँडा कपडा उद्योग र नेपाल औषधि लिमिटेडलगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने धारणा राखे । सरकारले आफैँ उद्योग सञ्चालन गर्नुभन्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने नीति अघि सार्नुपर्नेमा उहाँले जोड दिए।
उनले २०४६ सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुला, उदार तथा बजारमुखी अर्थतन्त्रको बाटो रोजेको स्मरण गर्दै प्रधानमन्त्रीले लिने आर्थिक नीतिले मुलुकको भावी दिशा निर्धारण गर्ने बताए ।
तत्कालीन सरकारले निजी क्षेत्र र बजारलाई विश्वास नगरेको भए आर्थिक विकासको आधार निर्माण हुन नसक्ने दाबी गर्दै सभापति थापाले वर्तमान सरकारले पनि निजी क्षेत्रप्रति विश्वासको वातावरण बनाउनुपर्ने बताए।
उनले प्रधानमन्त्री शाहको पछिल्लो धारणा र निर्णयप्रति टिप्पणी गर्दै भन्नुभयो,“अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन । मेरो बुझाइमा उहाँ निजी क्षेत्रप्रति सकारात्मक हुनुहुन्न ।” प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति तथा निर्णयहरूका आधारमा आफूले यस्तो धारणा बनाएको उनले स्पष्ट पारे ।
दुग्ध विकास संस्थान, हेटौँडा कपडा उद्योग तथा नेपाल औषधि लिमिटेडलगायत सरकारी उद्योग सञ्चालनको विषयमा आफूले उद्योग चलून् र मुनाफा कमाऊन् भन्ने चाहना राखेको उल्लेख गर्दै उहाँले यस्ता विषयलाई राज्यको समग्र आर्थिक नीतिको दृष्टिकोणबाट हेर्नुपर्ने बताए।
सभापति थापाले सरकारले निजी क्षेत्रका लागि लगानीको अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा समेत जोड दिए ।