शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

शुक्रबार, भाद्र २६ २०८३

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता भएको छ।

वार्ताका क्रममा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका काम तीव्र पारिएको जानकारी दिए। उनले न्युजील्याण्डका नागरिकसहित बेपत्ता विदेशी नागरिकको खोजीलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको बताए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले न्युजील्याण्ड सरकारले उपलब्ध गराएको २० लाख न्युजील्याण्ड डलर बराबरको मानवीय सहयोगका लागि प्रधानमन्त्री लक्सनप्रति कृतज्ञता व्यक्त गरे।

प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च जोखिममा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा जलवायुजन्य क्षति तथा नोक्सानीका लागि वित्तीय सहयोग जुटाउन न्युजील्याण्ड सरकारको रचनात्मक भूमिका रहने विश्वास व्यक्त गरे।

वार्ताका क्रममा प्रधानमन्त्री लक्सनले नेपालले भोग्नुपरेको विषम परिस्थितिप्रति दुःख व्यक्त गर्दै न्युजील्याण्ड सरकार र जनताका तर्फबाट समवेदना तथा ऐक्यबद्धता प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।