शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

शुक्रबार, भाद्र २६ २०८३

काठमाडौँ । काठमाडौँ उपत्यकाको पूर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर तथा उत्तरगया पितृतीर्थ धाममा आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ।

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन भएकाले दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्न भक्तजनको भीड लागेको हो। यस दिन वर्षभरि गरिने धार्मिक कृत्यमा आवश्यक पर्ने पवित्र कुश घरमा भित्र्याउने परम्परा रहेकाले भाद्रकृष्ण औँसीलाई कुशेऔँसी भनिन्छ। धार्मिक मान्यताअनुसार कुशलाई भगवान् विष्णुको स्वरूपका रूपमा मानिन्छ।

कुशेऔँसीका अवसरमा गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा बिहानैदेखि दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्दै तर्पण, आमान्न तथा पिण्डदान गर्ने भक्तजनको भीड लागेको छ। धार्मिक मान्यताअनुसार भाद्रपद कृष्ण औँसीका दिन गोकर्णेश्वरमा श्राद्ध तथा तर्पण गरेमा २१ पुस्तासम्मका पितृले मुक्ति पाउने विश्वास छ।

गोकर्णेश्वर मन्दिरका पुजारी जगदीश भट्टका अनुसार सत्ययुगमा ब्रह्माले स्थापना गरेको धार्मिक विश्वास रहेको यस तीर्थस्थलमा श्राद्ध तथा तर्पण गरेमा पितृले मुक्ति पाउने विषय धर्मशास्त्रमा उल्लेख गरिएको छ।

बौद्ध धर्मगुरु ऐतमान लामाका अनुसार बौद्ध धर्मावलम्बीले पनि बाबुको निधन भएको एक वर्षभित्र गोकर्णेश्वर पुगेर श्राद्ध तथा पूजाआजा गर्ने र त्यसपछि भोज खाने परम्परा रहेको छ। उहाँका अनुसार यस दिन गोकर्णेश्वर महादेवको दर्शन गरेमा दिवङ्गत बाबुको प्रतीकात्मक दर्शन गरेको मानिन्छ।

भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वरमा विशेष मेला लाग्ने भएकाले यस दिनलाई ‘गोकर्णे औँसी’का नामले समेत चिनिन्छ। धार्मिक मान्यताअनुसार पशुपतिनाथमा श्री यन्त्र र गोकर्णेश्वरमा बाल यन्त्र रहेको विश्वास भएकाले पशुपतिनाथको दर्शन गर्नेले गोकर्णेश्वर महादेवको समेत दर्शन गर्नुपर्ने धार्मिक परम्परा रहेको छ।