काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन मनाउँदैछन्। भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने परम्परा रहेको छ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलिएको कुश जजमानको घरमा ल्याएर राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिने तथा अन्य दिन उखेलिएको कुश सोही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको प्रा. डा. देवमणि भट्टराईले बताउँछन् ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्ने गर्दछन्। धार्मिक मान्यताअनुसार सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीका साथै पवित्र कुशको पनि उत्पत्ति गर्नुभएको हो। आज घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ।
कुशेऔँसीका अवसरमा छोराछोरीले आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाएर आदर–सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने परम्परा छ। बाबु दिवङ्गत भइसकेकाहरूले भने विभिन्न पवित्र तीर्थस्थलमा पुगेर उहाँको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदादान गर्ने गर्दछन्।
यस दिन विशेषगरी ‘उत्तरगया’का रूपमा परिचित काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्ने गर्दछ। त्यसैले भाद्रकृष्ण औँसीलाई ‘गोकर्णे औँसी’का नामले समेत चिनिन्छ। गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने श्रद्धालुको भीड लाग्ने गर्दछ।
मेलाका लागि आवश्यक सम्पूर्ण तयारी गरिएको मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष जयराम महतले जानकारी दिनुभएको छ।
यसैगरी, रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावतीमा पनि कुशेऔँसीका अवसरमा मेला लाग्ने गर्दछ। बाबु दिवङ्गत भएका श्रद्धालु तर्पण, सिदादान तथा पिण्डदानका लागि वेत्रावती पुग्ने गर्दछन्। यद्यपि यस वर्ष भोटेकोशीमा आएको बाढीका कारण वेत्रावतीमा मेला लाग्ने वा नलाग्ने विषयमा निश्चित भइसकेको छैन।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार यस दिन छोराछोरीले जीवित बाबुलाई श्रद्धापूर्वक उहाँको रुचिअनुसार भोजन खुवाई आशीर्वाद लिएमा सुख प्राप्त हुने विश्वास छ। बाबु दिवङ्गत भइसकेकाहरूले गोकर्णलगायत अन्य तीर्थस्थलमा पुगेर तर्पण तथा सिदादान गरेमा पुण्य प्राप्त हुनुका साथै कुल स्थिर हुने धार्मिक विश्वास रहेको छ।
धार्मिक ग्रन्थहरूमा यस दिन गरिएको थोरै दानबाट समेत धेरै गुणा पुण्य प्राप्त हुने उल्लेख पाइने भएकाले कुशेऔँसीलाई पुण्य पर्वका रूपमा समेत लिने गरिएको छ।