बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आज ‘कुशअमबसीया’ पर्व मनाउँदै मैथिल

शुक्रबार, भाद्र २६ २०८३

महोत्तरी  । सांस्कृतिक तथा पारम्परिक चाडपर्वका लागि प्रसिद्ध मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदैछ। चन्द्रमासअनुसार भदौ महिनाको औँसी तिथिमा मनाइने यस पर्वका अवसरमा सनातन वैदिक परम्पराका अनुयायी मैथिलले पवित्र वनस्पति कुश सङ्ग्रह गर्ने गर्दछन्।

हिन्दू मैथिल परम्परामा भदौ औँसीलाई ‘कुशअमबसीया’ भनिन्छ। यस दिन वैदिक मन्त्रोच्चारणसहित धार्मिक विधि र कर्मकाण्डपूर्वक कुश उखेलेर घरमा राख्ने परम्परा रहेको छ। पर्वका दिन सङ्ग्रह गरिएको कुश वर्षभरि गरिने पितृकार्य तथा विभिन्न शुभकार्यमा प्रयोग गरिन्छ।

मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पण्डित दिनेशकुमार झाका अनुसार हिन्दू वैदिक परम्पराका अधिकांश धार्मिक तथा कर्मकाण्डीय कार्य कुशबिना सम्पन्न गर्ने परम्परा छैन।

पर्वका अवसरमा हिन्दू परम्पराअनुसार पुरोहितले यजमानको घरमा शास्त्रोक्त विधिबाट उखेलिएको कुशको मुठा बनाएर घरको दलिनमा सिउरिदिने चलन छ। मिथिलामा भने घरका मुख्य पुरुषले ब्रह्ममुहूर्तमै आफैँ कुश उखेली पवित्र विधिबाट घरमा राख्ने परम्परा रहेको छ।

कुश उखेल्दा वैदिक मन्त्रोच्चारण गर्ने चलनसमेत रहेको छ। विधिपूर्वक उखेलिएको कुशलाई धार्मिक कर्मकाण्डमा विशेष पवित्र मानिन्छ।

मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवका अनुसार हिन्दू वैदिक परम्परामा शुभकार्य, पितृकार्य तथा त्यसका सङ्कल्पमा कुशको प्रयोग अनिवार्यजस्तै मानिन्छ। मैथिल परम्परामा उक्त मठका मठाधीशलाई सांस्कृतिक तथा धार्मिक प्रतिनिधिका रूपमा मान्ने प्रचलनसमेत रहेको उहाँ बताउनुहुन्छ।

हिन्दू धर्ममा विभिन्न चाडपर्व, पितृकार्य तथा अन्य शुभकार्यका कर्ताले कुशको औँठी लगाउनुपर्ने कर्मकाण्डीय विधान छ। वैदिक विधिअनुसार जलमा डुबाइएको कुशका टुक्रा, जौ तथा तिल हातमा लिएर सङ्कल्प गरेपछि मात्र मुख्य धार्मिक कार्य प्रारम्भ भएको मानिन्छ।

मैथिल परम्परामा ‘कुशअमबसीया’का दिन सङ्ग्रह गरी घरमा राखिएको कुशको मुठालाई विघ्ननाशक तथा कल्याणदायक मानिन्छ। शास्त्रीय मान्यताअनुसार यस दिन विधिपूर्वक घरमा राखिएको कुशले घर, भौतिक सम्पत्ति तथा परिवारको रक्षा गर्ने विश्वास रहेको छ।

यसैगरी, मिथिलामा आज दिवङ्गत पितृका नाममा तर्पण दिने परम्परासमेत रहेको छ।