काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि दोलखास्थित च्छोरोल्पा हिमतालबाट हुन सक्ने सम्भावित जोखिमप्रति सांसद स्मृति सेन्चुरीले सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सेन्चुरीले जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रको जोखिम बढ्दै गएको उल्लेख गर्दै विपद् आएपछि उद्धारमा जुट्नेभन्दा पनि विपद् आउनुअघि नै आवश्यक तयारी गर्नुपर्ने बताइन्।
रसुवाको बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले बेपत्ताको खोजी तथा घाइतेहरूको उद्धार र उपचार कार्यलाई तीव्र बनाउन सरकारसँग आग्रह गरिन्।
“रसुवाको बाढीले हामीलाई एउटा स्पष्ट सन्देश दिएको छ—विपत्ति आएपछि मात्र होइन, आउनुअघि नै तयारी गर्नुपर्छ,” सांसद सेन्चुरीले भनिन्।
उनले दोलखाको च्छोरोल्पा हिमताललाई उच्च जोखिमयुक्त हिमतालका रूपमा विज्ञहरूले वर्षौंदेखि औँल्याउँदै आएको उल्लेख गर्दै बढ्दो तापक्रमसँगै यसको जोखिम थप बढिरहेको बताइन्।
च्छोरोल्पामा कुनै अप्रिय घटना भए त्यसको असर दोलखामा मात्र सीमित नहुने भन्दै उनले तामाकोशी करिडोरका हजारौँ नागरिक तथा महत्वपूर्ण पूर्वाधारसमेत प्रभावित हुन सक्ने चेतावनी दिइन्।
सांसद सेन्चुरीले च्छोरोल्पा क्षेत्रमा २४ घण्टा निगरानी, प्रभावकारी पूर्वसूचना प्रणाली, स्वचालित साइरन र नियमित मोक ड्रिल तत्काल लागू गर्न सरकारसँग माग गरिन्।