जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण हिमाल पग्लिँदै गएको विषयलाई नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्ने बताएका छन्।
पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका दाहालले बिहीबार बिहान रासससँग कुरा गर्दै हिमाल पग्लिने समस्या वातावरणीय विषयमा मात्र सीमित नभई मानव सभ्यता र अस्तित्वसँग प्रत्यक्ष जोडिएको गम्भीर सवाल भएको बताए।
उनले आफू दोस्रो र तेस्रो पटक प्रधानमन्त्री हुँदा जलवायु परिवर्तनको विषय विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा उठाएको स्मरण गर्दै अहिले पनि अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराउन आवश्यक रहेको बताए।
दाहालका अनुसार जलवायु परिवर्तनका कारण हिमाल तीव्र गतिमा पग्लिनु मानव अस्तित्वकै लागि चुनौती बन्दै गएको छ। यसको असर हिमाली क्षेत्रमा मात्रै सीमित नभई मानव जीवन, कृषि, पानीका स्रोत, जैविक विविधता र समग्र अर्थतन्त्रमा समेत क्रमशः देखिन थालेको उनको भनाइ छ।
दाहालले भोटेकोशी नदीमा बाढी आएका बेला सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको आरोपसमेत लगाए।
उनले तत्कालीन समयमा अन्तर्राष्ट्रिय समुदाय, सम्बन्धित क्षेत्रका विज्ञ तथा उद्धार टोलीको सहयोग लिएर उद्धार अभियानलाई तीव्रता दिन नसक्नु सरकारको कमजोरी भएको बताए।
सुरुङभित्र फसेका व्यक्तिको अवस्था पत्ता लगाउन अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको तत्काल प्रयोग गर्न सकेको भए धेरैको ज्यान जोगाउन सकिने अवस्था रहेको उनको दाबी छ।
तर सरकारले त्यस्तो प्रविधि र दक्ष जनशक्तिको प्रभावकारी प्रयोग गर्दै समयमै खोज तथा उद्धार गर्न नसकेको भन्दै दाहालले असन्तुष्टि व्यक्त गरे।