काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन बोलाउने विषयलाई लिएर विवाद चर्किएको छ। पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरूले विशेष महाधिवेशनको वैधानिकता, प्रक्रिया र समयबारे फरक–फरक धारणा सार्वजनिक गरेका छन्।
बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वसभापति देउवाले पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउनुअघि पार्टी सदस्यहरूको सनाखत अनिवार्य रहेको बताएका छन्।
पार्टीका आधिकारिक सदस्य को–को हुन् भन्ने पहिचान नगरी नामावलीका आधारमा मात्रै विशेष महाधिवेशन बोलाउन नमिल्ने उनको जिकिर छ। सभापतिलाई जानकारी नै नदिई विशेष महाधिवेशन बोलाउन नसकिने पनि देउवाले बताए।
देउवाले कांग्रेसको विधानमा विशेष महाधिवेशन बोलाउने व्यवस्था रहेको उल्लेख गर्दै विगतमा सुवर्णशमशेर पार्टी सभापति हुँदा पनि विशेष महाधिवेशन भएको स्मरण गरे। त्यतिबेला सदस्य तथा प्रतिनिधिको पहिचान स्पष्ट गरेर महाधिवेशन गरिएको उनको भनाइ थियो।
गगन थापाले विशेष महाधिवेशनको विषय उठाएपछि आफूले पनि पार्टीलाई विशेष महाधिवेशन बोलाउने अधिकार रहेको तर त्यसअघि आधिकारिक सदस्यको सनाखत हुनुपर्ने धारणा राखेको देउवाले बताए।
उनले भने, “पहिले सनाखत गराउनुप¥यो। त्यो मेम्बर छ कि छैन पार्टीको भनेर खल्तीबाट हालेको नामावलीले विशेष महाधिवेशन बोलाउन पाइन्छ ?”
कांग्रेसभित्रको विवाद सर्वोच्च अदालतसम्म पुगेको उल्लेख गर्दै देउवाले अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे। सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएको विषयलाई उनले कांग्रेसको पक्षमा आधाभन्दा बढी जित भइसकेको रूपमा व्याख्या गरे।
शशांकको आग्रह : पार्टी एकजुट बनाऔँ
कांग्रेस नेता डा. शशांक कोइरालाले भने पार्टीभित्रको विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।
उनले आगामी महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुने उल्लेख गर्दै त्यसलाई सफल बनाउनु नै कांग्रेस, राष्ट्र, लोकतन्त्र र संविधानको सफलता हुने बताए।
कांग्रेस अहिले कठिन अवस्थामा रहेको र पार्टी विभाजनको सम्भावनासमेत देखिएको भन्दै कोइरालाले चिन्ता व्यक्त गरे। सबै पक्षलाई एक ठाउँमा ल्याएर अघि बढ्नु नै पार्टीको हितमा हुने उनको भनाइ छ।
उनले भने, “पार्टीलाई एकजुट पारौँ। आउँदो अधिवेशनमा शेरबहादुरको नेतृत्वमा अधिवेशन हुन्छ। यो अधिवेशनलाई सफल पारौँ।”
निधि : विशेष होइन, अब १५औँ महाधिवेशन गरौँ
नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनका नाममा १५औँ महाधिवेशन गर्ने अधिकार कसैलाई नभएको बताएका छन्।
उनका अनुसार कांग्रेसले १४औँ महाधिवेशनलाई पूर्ण महाधिवेशनका रूपमा स्वीकार गरिसकेको अवस्थामा अब निर्धारित समयमै १५औँ महाधिवेशन गर्नुपर्छ।
विशेष महाधिवेशनलाई नै पूर्ण महाधिवेशनका रूपमा गणना गर्ने हो भने त्यसपछि १६औँ महाधिवेशन गर्नुपर्ने अवस्था आउने निधिको तर्क छ। उनले पार्टीभित्रको विवाद अन्त्य गरेर १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता–कार्यकर्तालाई आग्रह गरे।
निधिले कांग्रेससँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएको विषयलाई पार्टीका लागि ठूलो सफलता भएको बताए। तर मुद्दा लामो समय नलम्ब्याई छिटो फैसला गर्न उनले अदालतसँग आग्रह गरे।
महत : निर्वाचनपछि विशेष महाधिवेशनको औचित्य सकियो
नेता डा. प्रकाशशरण महतले भने गत फागुनमा सम्पन्न निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको दाबी गरेका छन्।
निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन भए मात्रै कांग्रेसले राम्रो परिणाम ल्याउने दाबी गरिए पनि जनताले त्यसलाई अस्वीकार गरेको उनको भनाइ छ।
उनले भने, “निर्वाचनभन्दा अगाडि पार्टीको नेतृत्व परिवर्तन भयो भने मात्रै परिणाम आउँछ भनिएको थियो। जनताले हामीलाई पत्याउँछन् भनिएको होइन। खै त जनताले पत्याएको ? त्यसकारण पनि विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्यो।”
महतले विशेष महाधिवेशनसम्बन्धी विवादमा आफूहरू कानुनी बाटोबाट अघि बढेको र सर्वोच्च अदालतबाट पुनरावलोकनका लागि निस्सा प्राप्त भइसकेको बताए।
१४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले नै १५औँ महाधिवेशन गर्न पाउने गरी सर्वोच्चबाट फैसला आउने विश्वास व्यक्त गर्दै उनले कांग्रेसको पार्टीको आत्मा आफूहरूसँगै रहेको दाबी गरे।
यसरी कांग्रेसभित्र विशेष महाधिवेशनको विषयमा नेताहरूबीच मतभेद तीव्र बनेको छ। एक पक्षले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखिरहेको छ भने देउवा पक्षका नेताहरूले त्यसको वैधानिकता र प्रक्रियामाथि प्रश्न उठाउँदै निर्धारित १५औँ महाधिवेशनमै जोड दिएका छन्।