बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

 प्रधानमन्त्रीले तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल थाले

बुधबार, भाद्र २४ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल थालेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन्।

बाढीपछि सिर्जित परिस्थितिबारे विस्तृत जानकारी लिन, खोज तथा उद्धार, राहत वितरण र घाइतेको उपचारलगायत विषयमा ब्रिफिङ लिन प्रधानमन्त्रीले सुरक्षा प्रमुखसँग छलफल गरेका हुन्।

छलफलका क्रममा प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहतका काम र तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने बताइएको छ।

प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्री शाहले आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ।

तीनवटै सुरक्षा निकायबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत अभियानको अवस्थाबारे जानकारी लिएर आगामी रणनीति तय गर्ने तयारी प्रधानमन्त्रीको छ।