काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनपछि विघटन भएको संसद् पुनर्स्थापनाको विषय आगामी केन्द्रीय कमिटी बैठकमा छलफलको एजेन्डा बन्न सक्ने बताएका छन्।
गुण्डुमा बुधबार आयोजित कार्यक्रममा बोल्दै बस्नेतले आगामी असोज ६ र ७ गते बस्ने केन्द्रीय कमिटी बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुने बताए।
उनले विगतमा पनि प्रतिगमन सच्याउन संसद् पुनर्स्थापनाको प्रक्रियालाई एमालेले स्वीकार गरेको स्मरण गर्दै अहिले पनि संसद् पुनर्स्थापना ‘क्रान्तिकारी कदम’ हुन सक्ने धारणा राखे।
‘कतिपय साथीहरूले संसद् पुनर्स्थापनाको कुरा सोध्नुभएको छ। यसपालिको बैठकमा हामी छलफल गर्नेछौँ,’ उनले भने, ‘अघिल्लो संसद् पुनर्स्थापना एउटा क्रान्तिकारी कदम हुन सक्छ। यो विषय सर्वोच्च अदालतमा पनि विचाराधीन छ। त्यसैले यो हामीभित्र बहसको विषय हो।’
बस्नेतले संसद् पुनर्स्थापनाको विषयलाई पार्टीले लुकाउनुपर्ने कुनै कारण नरहेको पनि बताए।
यसैबीच, उनले बालेन नेतृत्वको सरकार जति लामो समय टिक्छ, देशले त्यति नै क्षति व्यहोर्नुपर्ने दाबी गरे। संयुक्त राष्ट्रसंघको महासभाबाट फर्किएपछि राजीनामा दिन उनले सरकारलाई सुझाव दिए।
उनले राजीनामा नदिए पुनः आन्दोलन हुन सक्ने चेतावनीसमेत दिए।
‘राजीनामा नदिए २३ र २४ गते जसरी तपाईंहरूले हाम्रो घर जलाउनुभयो, जनताको आक्रोश छ। जनताको आक्रोश रोक्न राजीनामा दिनुस्,’ बस्नेतले भने, ‘नभए दोस्रो भदौ २३ र २४ गतेजस्तै आन्दोलनको घोषणा हुनेछ। संसद् पुनर्स्थापनालगायतका विषय आन्दोलनको एजेन्डा बन्नेछ।’