बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–३ मा खोला तर्ने क्रममा बगेका एक किशोर बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा सोही ठाउँका अन्दाजी १६–१७ वर्षीय अनुज सिंह रहेका छन्। उनी मंगलबार दिउँसो बाख्रा चराउन गएका बेला कालसिङ्गे खोला तर्ने क्रममा बगेका हुन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गगनसिंह भाटका अनुसार किशोर बगेको घटनाबारे स्थानीय खडक भण्डारीले प्रहरी चौकी जुड्डीमा जानकारी गराएका थिए।
घटनाको जानकारी पाएलगत्तै प्रहरी सहायक निरीक्षक रमेशबहादुर रावलको नेतृत्वमा तीन जनाको प्रहरी टोली खोजीमा परिचालन गरिएको छ।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल गुल्म बाजुराको विपद् उद्धार सुरक्षा बेस कोल्टीबाट सात जनाको टोलीसमेत खोजी तथा उद्धारका लागि परिचालन गरिएको छ।
बेपत्ता किशोरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।