काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्ने काम तीव्र पारिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढीबाट क्षतिग्रस्त विद्युत् संरचना मर्मत गर्दै प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापनाको अभियानलाई तीव्रता दिइएको हो।
गत भदौ १० गते आएको बाढीले विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि मन्त्रालयले भोलिपल्टदेखि नै उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरी विद्युत् पुनःस्थापनाको काम अघि बढाएको जनाएको छ।
विद्युत् पूर्वाधारमा क्षति पुगेका स्थानमा वैकल्पिक उपायसमेत अपनाएर सेवा पुनः सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ। यही क्रममा मंगलबार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–१० र ११ मा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ।
मन्त्रालयका अनुसार हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा करिब ९५ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ।
विद्युत् सेवा तत्काल पुग्न नसकेका क्षेत्रमा भने वैकल्पिक ऊर्जामार्फत सेवा उपलब्ध गराउने काम पनि अघि बढाइएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सामुदायिक आश्रयस्थलका लागि दुई किलोवाट क्षमताका सौर्य प्रणाली तथा आवश्यकताअनुसार घरपरिवारका लागि व्यक्तिगत सोलार प्रणाली वितरण भइरहेको मन्त्रालयले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा प्राविधिक टोलीसँगै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कर्मचारी बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापनाका लागि निरन्तर खटिरहेका छन्।