काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन्।
रास्वपाका एक सांसदका अनुसार लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको खोजी तथा उद्धार, राहत वितरण र पुनर्स्थापनालगायत विषयमा संसद्मा आफ्नो धारणा राख्नेछन्।
प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्।
यसैगरी, ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
उता, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ। बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेस हुने कार्यसूची छ।
विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले उक्त प्रतिवेदन पेस गर्नेछन्।
त्यस्तै, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा सभालाई जानकारी गराउनेछन्।
यसबीच आज अर्थ समिति तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकसमेत बस्दैछ।