काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४ गते भएका घटनालाई नेपालको लोकतन्त्र, संविधान, राष्ट्रिय अर्थतन्त्र र राज्यका आधारस्तम्भमाथिको गम्भीर तथा योजनाबद्ध आक्रमणका रूपमा व्याख्या गरेको छ।
भदौ २४ गतेको विध्वंश भएको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै एमालेले भदौ २३ गतेको नवयुवा प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका युवाहरू तथा कर्तव्य पालनाका क्रममा आपराधिक समूहको आक्रमणमा मारिएका प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विध्वंशपछि पुनर्निर्माणमा जुटेका राजनीतिक–सामाजिक व्यक्तित्व तथा व्यवसायीप्रति पुनरुत्थानको शुभेच्छा व्यक्त गरेको छ।
एमालेले लोकतन्त्रमा नागरिकले सरकारसमक्ष आफ्ना अपेक्षा, असन्तुष्टि र माग राख्नु स्वाभाविक भए पनि त्यसका लागि शान्तिपूर्ण र लोकतान्त्रिक बाटो नै उपयुक्त हुने जनाएको छ। संविधानले नागरिकलाई वाक् तथा अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण भेला र विरोध गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै एमालेले असन्तुष्टिको समाधान लोकतान्त्रिक विधिबाटै गर्न सकिने जनाएको छ।
विज्ञप्तिमा एमालेले भदौ २३ गते माइतीघरबाट सुरु भएको प्रदर्शन सुरुमा शान्तिपूर्ण रहेको दाबी गरेको छ। तर विभिन्न आपराधिक समूहले प्रदर्शनमा घुसपैठ गरी त्यसलाई अनियन्त्रित, अराजक र हिंसात्मक बनाएको आरोप लगाएको छ। आयोजकहरूले कार्यक्रम स्थगित गरेको घोषणा गरेपछि समेत घुसपैठ गरेका समूहले युवाहरूलाई मानव ढाल बनाएर संसद् भवनतर्फ आक्रमण गर्न दुरुत्साहन गरेको एमालेको दाबी छ।
एमालेले त्यसक्रममा भएको प्रहरी बल प्रयोगबाट १९ जना युवाको ज्यान गएको घटनालाई दुःखद् भनेको छ। घटनापछि सरकारले न्यायिक आयोग गठन गर्ने, सामाजिक सञ्जालमाथिको अस्थायी बन्देज हटाउने, घाइतेको निःशुल्क उपचार तथा पीडित परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको स्मरण गर्दै तत्कालीन गृहमन्त्रीले नैतिक जवाफदेहिता लिँदै राजीनामा दिएको पनि उल्लेख गरेको छ।
भदौ २४ को घटनालाई ‘योजनाबद्ध’ भनेको दाबी
एमालेले भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय, शहीद तथा अग्रजका स्मारकसहित सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडलाई नेपालको इतिहासकै कालो अध्याय भनेको छ।
प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि समेत विध्वंशका घटना भएको उल्लेख गर्दै एमालेले भदौ २४ को घटना अघिल्लो दिन युवाको मृत्युबाट उत्पन्न आक्रोशको स्वाभाविक परिणाम नभएको दाबी गरेको छ। बरु राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील दिशालाई उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वतर्फ धकेल्ने योजनाको परिणाम भएको एमालेको आरोप छ।
एमालेले शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार थिए भन्ने विषयमा गहिरो छानबिन हुनुपर्ने मागसमेत गरेको छ। तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई दोषी देखाउँदै गिरफ्तारी तथा मुद्दा चलाउने प्रयास गरिएको आरोप लगाउँदै एमालेले सुरक्षा निकायको भूमिका सम्बन्धी प्रतिवेदनसमेत सार्वजनिक नगरिएको दाबी गरेको छ।
‘राज्यका धरोहरमाथिको आक्रमण रोक्न सुरक्षा निकाय किन असफल भए?’
राज्यका मुख्य धरोहर र लोकतन्त्रमाथि आक्रमण हुँदा सुरक्षा निकायले त्यसलाई किन रोक्न नसके भन्ने प्रश्नसमेत एमालेले उठाएको छ। सुरक्षा निकायको व्यावसायिक क्षमताको अभाव हो वा निष्ठासम्बन्धी प्रश्न हो भन्ने विषयमा यथोचित उत्तर खोजिनुपर्ने उसको भनाइ छ।
एमालेले प्रदर्शनका नाममा अराजकता र परिवर्तनका नाममा हिंसालाई वैधता दिने प्रवृत्तिले नेपालले लोकतन्त्र र शान्तिका क्षेत्रमा स्थापित गरेको दृष्टान्तलाई कमजोर बनाउने जोखिम रहेको जनाएको छ।
उसले अब त्यस्तो घटना दोहोरिन नदिन राजनीतिको अपराधीकरण रोक्नुपर्ने, दण्डहीनताको अन्त्य गर्नुपर्ने र राज्य तथा सार्वजनिक सम्पत्तिमा विध्वंश गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ।
‘जेन्जीका नाममा भएको हिंसाबाट अरूले लाभ लिए’
एमालेले नवयुवाहरूको सरोकार, अपेक्षा र मनसाय असल रहेको दाबी गर्दै ‘जेन्जी विद्रोह’का नाममा भएको हिंसा र विध्वंशमा नवयुवाहरूको संलग्नता नरहेको जिकिर गरेको छ। बरु अन्य तत्वहरूले त्यस घटनाबाट लाभ लिएको र तिनको भूमिकाका कारण अहिले नवयुवाहरूमा निराशा उत्पन्न भएको एमालेको दाबी छ।
विज्ञप्तिको अन्त्यमा एमालेले लोकतन्त्र, संविधान, राष्ट्रिय हित, स्वाभिमान र शान्तिको रक्षाका लागि देशभक्त, लोकतान्त्रिक, प्रगतिशील तथा वामपन्थी शक्ति र व्यक्तिहरूलाई एकताबद्ध भएर सक्रिय हुन अपिल गरेको छ।
‘हिंसालाई होइन भन्नैपर्छ, अराजकताको अन्त्यका लागि बोल्नैपर्छ र सरकार परिवर्तनका लागि संवैधानिक बाटोबाहेक अन्य विकल्प स्वीकार्य छैन भन्ने मान्यतालाई पुनः स्थापित गर्नुपर्छ’ भन्ने सन्देश एमालेले दिएको छ।