काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जनतालाई सुशासनको अनुभूति गराउन नसके संसद्मा दुई तिहाइ बहुमत भए पनि त्यसको कुनै अर्थ नरहने बताएकी छन्।
जेन–जी आन्दोलन भएको एक वर्ष पूरा भएको सन्दर्भमा मंगलबार वक्तव्य जारी गर्दै कार्कीले उक्त आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई सुशासन, जवाफदेहिता र पारदर्शिताका विषयमा स्पष्ट सन्देश दिएको बताएकी हुन्।
उनले राजनीतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने बताएकी छन्। सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी रूपमा काम गर्नुपर्ने उनको भनाइ छ।
कार्कीले एक वर्षअघि सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको माग गर्दै नवयुवाहरू सडक र डिजिटल सञ्जालमार्फत आवाज उठाएको स्मरण गरेकी छन्। आन्दोलनको आवाज दबाउने क्रममा निर्दोष युवाहरूले ज्यान गुमाउनुपरेको र कयौँ युवा जीवनभर अपांगताको पीडा बेहोर्नुपर्ने गरी घाइते भएको उनले उल्लेख गरेकी छन्।
उनले आन्दोलनमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति हुनुका साथै राष्ट्रिय सम्पदा र धरोहरसमेत गुमेको उनले बताएकी छन्। उक्त घटनाले राष्ट्रको जीवनमा गहिरो घाउ बनाएको भन्दै उनले यस्ता घटना फेरि दोहोरिन नदिन सबैले इमानदार, जिम्मेवार र चनाखो भएर आफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिएकी छन्।
‘सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन,’ कार्कीले भनेकी छन्, ‘राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ।’
उनले सुशासन र परिवर्तनका लागि जनता पुनः सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सरकार गम्भीर हुनुपर्ने बताएकी छन्।
जेन–जी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै मुलुक भोटेकोसी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेको भन्दै कार्कीले विपद्को समयमा धैर्य, जिम्मेवारी र एकताका साथ अघि बढ्न आह्वान गरेकी छन्।
उनले एकअर्काको सहारा बन्दै, दुःखमा मल्हम लगाउँदै ऐक्यबद्ध भएर विपद्को सामना गर्नुपर्ने बताएकी छन्।