बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

जेन–जी आन्दोलनमा घुसपैठ गराउने योजनाकारलाई कारबाही गर्नुपर्छ : शङ्कर पोखरेल

मंगलबार, भाद्र २३ २०८३

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेन–जी आन्दोलन’का क्रममा भएको हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।

जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली तथा घाइते र सन्तान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै पोखरेलले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले शान्तिपूर्ण प्रदर्शनलाई सुरुदेखि नै नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने सुनियोजित षड्यन्त्र भएको दाबी गरेका छन्।

पोखरेलले गत वर्ष भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा घुसपैठ तथा संसद् भवनभित्र प्रवेश गर्ने क्रममा भएको झडपमा दर्जनौँ युवाले ज्यान गुमाएको र सयौँ घाइते भएको स्मरण गरेका छन्।

उनका अनुसार जेन–जी युवाले उठाएका भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, सेवा प्रवाहलाई सहज बनाउने तथा सामाजिक सञ्जालको निर्वाध प्रयोग गर्न पाउनुपर्नेलगायतका माग जायज थिए।

सामाजिक सञ्जालसम्बन्धी सरकारी नीतिलाई स्पष्ट रूपमा बुझाउन नसक्दा सामाजिक सञ्जालमा अभ्यस्त नयाँ पुस्ता सडकमा आउन पुगेको पोखरेलको दाबी छ।

“नवयुवाहरूको शान्तिपूर्ण प्रदर्शनलाई सुरुदेखि नै नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने सुनियोजित षड्यन्त्र भएको थियो भन्ने कुरा अब घामजस्तै छर्लङ्ग भइसकेको छ,” उनले भनेका छन्।

शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिएका छन्। उनका अनुसार त्यसो गर्नु नै जेन–जी आन्दोलनको वास्तविक भावनाको सम्मान गर्नु हो।

पोखरेलले वर्तमान सरकार जेन–जी आन्दोलनको भावनाअनुसार नभई आन्दोलनलाई ‘हाइज्याक’ गर्नेहरूको योजना र प्रभावमा चलेको आरोपसमेत लगाएका छन्।

उनले अहिलेको अवस्थामा नवयुवाको वास्तविक भावनाको कदर गर्ने, मुलुकमा सुशासनको प्रत्याभूति दिने र विधिको शासन स्थापित गर्ने कामलाई प्रमुख प्राथमिकता दिनुपर्ने बताएका छन्।

नेकपा (एमाले) नवयुवाको भावना र जायज माग सम्बोधन गर्न उनीहरूसँग मिलेर अघि बढ्न प्रतिबद्ध रहेको पोखरेलले उल्लेख गरेका छन्।

“हिजो नवयुवाको पक्षमा थियौँ, आज पनि छौँ र भोलि पनि रहनेछौँ,” उनले भनेका छन्। विगतमा नवयुवाको भावना र माग सम्बोधनमा केही कमजोरी भएको भए त्यसलाई सुधार गर्दै अघि बढ्न एमाले प्रतिबद्ध रहेको उनको भनाइ छ।