काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी गरी ६ हजार ३२९ जनाले जग्गाका लागि निवेदन दिएका छन्।
सरकारले भूमिहीनको समस्या समाधान गर्दै जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाएपछि जमिन पाउने आशामा उनीहरूले निवेदन दिएका हुन्।
जिल्लास्थित नापी कार्यालयका अनुसार हालसम्म प्राप्त निवेदनमध्ये ७०७ भूमिहीन सुकुमवासी, १८३ भूमिहीन दलित र ५ हजार ४३९ अव्यवस्थित बसोबासी छन्।
नापी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख अशोक भुसालले भूमिहीनहरूले जिल्ला भूमि समस्या समाधान समितिमा निवेदन दिएको जानकारी दिए। उनका अनुसार प्राप्त निवेदनको विवरण प्रविष्ट गर्ने तथा आवश्यक प्रक्रिया अघि बढाउने काम भइरहेको छ।
सरकारले गत जेठको तेस्रो साता नयाँ जिल्ला भूमि समस्या समाधान समिति गठन गरेपछि जिल्लामा रहेका भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको थियो।
समितिले जिल्लास्थित सङ्घीय तथा प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षसँग छलफल गरी विगतमा छुटेका भूमिहीनको समेत निवेदन माग गरेको जनाएको छ।
समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले असार मसान्तभित्र जिल्लामा रहेका भूमिहीन सुकुमवासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरी निर्देशअनुसार विवरण प्रविष्टिलगायतका काम भइरहेको बताए।
सरकारले एक हजार दिनभित्र भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने लक्ष्य राखेकाले सोहीअनुसार जिल्लामा पनि काम अघि बढाइएको उनले बताए।
विगतमा छुटेका भूमिहीन सुकुमवासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरी प्रविष्ट गर्ने काम भइरहेको अधिकारीले जानकारी दिए।
“विवरण सङ्कलनका क्रममा विगतमा भएका त्रुटिलाई सच्याउँदै प्रक्रिया अघि बढाइएको छ। कसैले बदनियत राखेको पाइए कारबाही गर्नेछौँ,” उनले भने।