काठमाडौं । रसुवाको भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित आसपासका जिल्लामा हालसम्म १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ भदौ २२ गते बिहान ११ बजेसम्मको पछिल्लो विवरण सार्वजनिक गर्दै बाढीमा परी १ हजार ३ सय ५५ जनाको मृत्यु भएको जनाएको हो।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा ३ सय ६३, नवलपरासी पूर्वमा २ सय २२, नवलपरासी पश्चिममा २ सय २१, नुवाकोटमा १ सय ९७, रसुवामा १ सय ६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ।
फेला परेका शवमध्ये हालसम्म ९८ जनाको मात्र सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ।
बाढीपछि हालसम्म ४ हजार ९ सय ९६ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। तीमध्ये रसुवाका १ हजार ९ सय ६७, नुवाकोटका २ हजार ३ सय ४०, सुरक्षाकर्मी तथा कर्मचारी करिब १ सय र विदेशी नागरिक ५ सय ८९ जना छन्।
प्राधिकरणका अनुसार सम्पर्कविहीनको सूचीमा उद्धार भइसकेका तर सनाखत हुन बाँकी व्यक्ति पनि पर्न सक्ने भएकाले तथ्याङ्क रुजु गर्ने काम भइरहेको छ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३ सय ९६ जनालाई सुरक्षित स्थानमा उद्धार गरिएको छ। बाढीमा परी घाइते भएका ६ हजार ६ सय ७२ जनाको उपचार गरिएको छ।
उपचार गराइएकामध्ये २ सय २८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने ३ सय २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेको उपचारमा नेपाली सेनाले ३ हजार ३ सय ७९ र सशस्त्र प्रहरीले २ हजार ९ सय ७० जनालाई स्वास्थ्य सेवा प्रदान गरेका छन्।
रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा अहिले ३ हजार ५ सय ३३ जना आश्रित रहेका छन्।
खोज तथा उद्धारका लागि २१ हजार ४ सय २ जना सुरक्षाकर्मी कार्यक्षेत्रमा परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना छन्।
भदौ २१ गते रसुवामा हेलिकप्टर र ट्रकमार्फत खाद्यान्न, जेनेरेटर, हाइजिन किट तथा विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री ढुवानी गरिएको प्राधिकरणले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा १ सय ५० जना स्वास्थ्यकर्मी परिचालन गरेको छ भने २९ जना मनोसामाजिक परामर्शदातासमेत खटाइएको छ।