बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्ध, जनजीवन प्रभावित

सोमबार, भाद्र २२ २०८३

बाजुरा । शनिबार रातिदेखि परेको अविरल वर्षापछि विभिन्न स्थानमा पहिरो जाँदा बाजुराको जनजीवन प्रभावित भएको छ। पहिरोका कारण जिल्लाभर विद्युत् सेवा र सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।

लगातारको वर्षाका कारण बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायतका स्थानमा सडक माथिबाट ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

दुई दिनदेखि सडक अवरुद्ध हुँदा सदरमुकाम मार्तडीबाट आवतजावत गर्ने लामो तथा छोटो दूरीका सवारीसाधन रोकिएका छन्। यसले जिल्लाको यातायात सेवा ठप्प भएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार अवरुद्ध सडक खुलाउन आइतबार नै जेसीबी प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरिएको थियो। तर दिउँसो पुनः भारी वर्षा भएपछि काम रोकिएको थियो। सोमबार बिहानदेखि सडक विभागको एउटा जेसीबी र एउटा स्काभेटर प्रयोग गरी सडक खुलाउने काम भइरहेको उहाँले बताउनुभयो।

पहिरोले ३२ विद्युत् खम्बा ढले

अविरल वर्षापछि पहिरोले ३२ वटा विद्युत् खम्बा ढालेपछि शनिबार रातिदेखि बाजुराभर राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका अनुसार बडीमालिका नगरपालिका–९ को सुवाकाँधमा पहिरोले सात र वीरेखोला तथा नुनेपानी क्षेत्रमा २५ वटा गरी करिब ३२ वटा खम्बा ढलेका छन्। शनिबार राति करिब ९ बजेदेखि जिल्लाभर विद्युत् सेवा बन्द भएको हो।

अवरुद्ध विद्युत् सेवा सञ्चालनका लागि प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको कार्यालयले जनाएको छ। अछामदेखि सदरमुकाम मार्तडीसम्म ३३ केभी राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति हुँदै आएको छ।

विद्युत् सेवा बन्द हुँदा सदरमुकाम मार्तडीसहित जिल्लाका विभिन्न क्षेत्रका घरपरिवार अँध्यारोमा बस्न बाध्य भएका छन्। सरकारी तथा गैरसरकारी कार्यालयको सेवा प्रवाहसँगै विद्युत्बाट सञ्चालन हुने विभिन्न कामसमेत प्रभावित भएका छन्।

अवरुद्ध सडक र विद्युत् सेवा तत्काल सञ्चालन गर्न बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला प्रभावित क्षेत्रमा खटिनुभएको जनाइएको छ।

यसैबीच, आइतबार बडीमालिका नगरपालिका–८ र ९ का विभिन्न स्थानमा पहिरो खस्दा दुई वटा घर, चार वटा गोठ, एक गाईगोठ तथा एक पक्की घरमा क्षति पुगेको छ।