पाल्पा । पाल्पामा चालु आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौ महिनामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुदन भट्टराईका अनुसार पछिल्लो दुई महिनामा जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो।
पाल्पामा पछिल्ला वर्षहरूमा डेङ्गु सङ्क्रमणको अवस्था उतारचढावपूर्ण रहे पनि सङ्क्रमितको संख्या उल्लेख्य देखिएको छ। आर्थिक वर्ष २०८२/०८३ मा ४३२, २०८१/०८२ मा ५१०, २०८०/०८१ मा ६८६, २०७९/०८० मा २५० र २०७८/०७९ मा २४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो।
चालु आर्थिक वर्षको सुरुवाती दुई महिनामै २५५ जनामा सङ्क्रमण पुष्टि हुनुले पाल्पामा यस वर्ष पनि डेङ्गुको जोखिम उच्च रहेको देखाएको छ।
स्वास्थ्यकर्मीका अनुसार वर्षायाममा पानी जम्ने स्थान बढ्दा डेङ्गु फैलाउने एडिज जातको लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले सङ्क्रमणको जोखिम बढ्ने गर्छ।
ल्याब टेक्निसियन अधिकृत भट्टराईले जलवायु परिवर्तनका कारण वातावरणीय अवस्थामा आएको परिवर्तनसँगै डेङ्गु परीक्षणको दायरा बढेकाले पनि सङ्क्रमितको संख्या बढी देखिएको बताउनुभयो। पछिल्लो समय डेङ्गु परीक्षण सहज बन्दै गएपछि सङ्क्रमण पहिचान हुने क्रमसमेत बढेको उहाँको भनाइ छ।
पाल्पाका युनाइटेड मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजलगायतका स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीमा डेङ्गु सङ्क्रमण देखिएको छ। जिल्लाका कतिपय निजी मेडिकल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा समेत डेङ्गुको परीक्षण हुने गरेको छ।
स्वास्थ्यकर्मीका अनुसार डेङ्गु सार्ने एडिज जातको लामखुट्टेले घर वरिपरि रहेका पुराना टायर, गमला, टिनका डब्बा तथा पानी जम्न सक्ने साना–ठूला भाँडाकुँडामा फूल पार्ने गर्छ। ती फूलबाट लार्भा, प्युपा हुँदै वयस्क लामखुट्टे बन्ने भएकाले लामखुट्टेको प्रजननस्थल पहिचान गरी लार्भाकै अवस्थामा नष्ट गर्न आवश्यक रहेको स्वास्थ्यकर्मीको सुझाव छ।