बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सोमबार, भाद्र २२ २०८३

सुदूरपश्चिम  । कैलालीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भइरहेको वर्षा अझै तीन दिनसम्म जारी रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ।

कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहका अनुसार आजदेखि भदौ २४ गतेसम्म हिमाल, पहाड र तराईका अधिकांश भूभागमा मौसम साधारणतया बदली रहनेछ। यस अवधिमा विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन कार्यालयले आग्रह गरेको छ।

साहका अनुसार आज दिउँसो हिमाली क्षेत्रमा थोरै तथा पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ। रातिको समयमा पनि हिमाली क्षेत्रमा थोरै तथा पहाडी र तराई क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ। पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

मङ्गलबारदेखि वर्षाको दायरा केही घट्ने अनुमान गरिए पनि मौसम पूर्णरूपमा खुल्ने छैन। हिमाली तथा पहाडी क्षेत्रका थोरैदेखि धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनसक्ने कार्यालयले जनाएको छ।

मङ्गलबार राति भने हिमाल, पहाड र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने र पहाडी क्षेत्रमा पहिरोको जोखिमसमेत रहने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।