शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

श्रीकृष्ण जन्माष्टमीमा देशभर रथयात्रा तथा शोभायात्रा

शनिबार, भाद्र २० २०८३

काठमाडौँ । भगवान् श्रीकृष्णको जन्मोत्सवका अवसरमा आज देशभरका विभिन्न स्थानमा रथयात्रा तथा शोभायात्रा निकालिँदै छ।

पाप र अधर्मको अन्त्य गरी सज्जनको रक्षा गर्न भगवान् श्रीकृष्णले अवतार लिनुभएको धार्मिक विश्वासका आधारमा भाद्र कृष्ण नवमीका दिन कृष्ण मन्दिर तथा धार्मिकस्थलमा रथयात्रा र शोभायात्रा निकाल्ने परम्परा रहँदै आएको छ।

यस अवसरमा काठमाडौँको उत्तरी भेग बूढानीलकण्ठस्थित नेपाल अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) को कार्यालय परिसरबाट विशेष रथयात्रा निकालिँदै छ। यस्तै, काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाले श्रीकृष्णका झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने तयारी गरेका छन्।

गोकर्णेश्वर नगरपालिका–८ बेँशीगाउँस्थित श्रीकृष्ण मन्दिर क्षेत्रबाट पनि आज रथयात्रा निकालिने कार्यक्रम रहेको वडाध्यक्ष नन्दलाल श्रेष्ठले जानकारी दिनुभयो। रथयात्रामा हजारौँ भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।

धार्मिक ग्रन्थहरूमा भगवान् श्रीकृष्णले बाल्यकालदेखि नै विभिन्न लीला देखाउनुभएको तथा पुतना, कंस, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको उल्लेख छ।

महाभारतको कुरुक्षेत्रमा अर्जुनलाई उपदेश दिँदै श्रीकृष्णले धर्मको रक्षा र अधर्मको विनाशका लागि युगौँयुगमा आफू अवतार लिने प्रसङ्गसमेत भगवद्गीतालगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।

यसै धार्मिक मान्यताअनुसार आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ श्रीकृष्ण जन्मोत्सव मनाइँदैछ।