हेटौँडा । बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने तयारी अघि बढाएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरोका कारण यातायात प्रभावित भएपछि हेटौँडा–काठमाडौँ आवागमनका लागि वैकल्पिक मार्गको आवश्यकता बढेको भन्दै प्रदेश सरकारले उक्त सडकको आवश्यक मर्मत तथा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको हो।
मुख्यमन्त्री किरण थापा मगरले मुख्य राजमार्गमा पटकपटक हुने अवरोधका कारण हेटौँडा–काठमाडौँ आवतजावत प्रभावित हुने समस्या न्यूनीकरण गर्न वैकल्पिक सडकलाई प्राथमिकतामा राखिएको बताए ।
मुख्यमन्त्री थापा, भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी, मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठा र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामासहितको टोलीले बिहीबार भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकखण्डको स्थलगत निरीक्षण गरेको थियो।
मुख्यमन्त्री थापाका अनुसार उक्त सडकको मर्मत तथा स्तरोन्नतिका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमै बजेट विनियोजन गरेको छ। सडकको वर्तमान अवस्था अध्ययन गरी तत्काल आवश्यक मर्मतका काम अघि बढाएर सवारी आवागमन योग्य बनाउने तयारी भइरहेको उनले भने ।
उक्त सडक सञ्चालनमा आएपछि हेटौँडा–काठमाडौँ आवागमनका लागि थप वैकल्पिक मार्ग उपलब्ध हुनेछ। साथै, पृथ्वी राजमार्गलगायत मुख्य सडकमा अवरोध हुँदा यात्रु तथा सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउन सहज हुने प्रदेश सरकारको अपेक्षा छ।