रसुवा । भोटेकोशी बाढीपछि रसुवाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेका व्यक्तिको खोज तथा उद्धार कार्य तीव्र पारिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै चीन, भारत र कोरियाका विज्ञ टोलीले माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार गरिरहेका छन्।
बाढीका कारण मृत्यु भएकामध्ये हालसम्म १४० जनाको शव सङ्कलन गरिएको छ। तीमध्ये १३४ वटा शव व्यवस्थापनका लागि नुवाकोट पठाइएको अधिकारीले जानकारी दिए।
बाढीपछि रसुवामा दुई हजार ५६४ जना सम्पर्कविहीन भएका छन्। जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार हराइरहेकामध्ये नेपाली सेनाको श्रीनाथ गणका २७, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरीका १३, सरकारी कर्मचारी ७९, बैंक तथा वित्तीय संस्थाका २६, रसुवाका नागरिक एक हजार २२६, अन्य जिल्लाका ८८२ र पर्यटक २४३ जना रहेका छन्।