त्रिशूली । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत वितरणमा गरिएको कामलाई पुनरुत्थानमा समेत नमुनाका रूपमा अघि बढाउनुपर्ने बताएकी छन्।
बिहीबार नुवाकोट पुगेकी मन्त्री रावलले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट सबैभन्दा बढी क्षति पुगेको विदुर नगरपालिकाका विभिन्न क्षेत्रमा पुगेर जनधनको क्षति, उत्पन्न समस्या तथा तत्काल गर्नुपर्ने कामबारे सम्बन्धित पदाधिकारीसँग छलफल गरेकी हुन्।
विदुर नगरपालिकाका जनप्रतिनिधि तथा जिल्लास्थित सरोकारवालासँगको छलफलमा मन्त्री रावलले विपत्तिको अवस्थामा छिटो गरिएको खोज तथा उद्धार, विस्थापित नागरिकलाई सुरक्षित स्थानमा राख्न सञ्चालन गरिएको ‘होल्डिङ सेन्टर’ र त्यसको व्यवस्थापनको प्रशंसा गरिन्।
“जनप्रतिनिधि र कर्मचारी स्वयं प्रभावित भएको अवस्थामा पनि दिनरात नभनी बाढीपीडितको असहज परिस्थितिलाई सहज बनाउन पुर्याएको योगदान उच्च छ,” उनले भनिन्, “अकल्पनीय विपत्तिमा गरिएको उद्धार, विस्थापित नागरिकलाई सुरक्षित बासस्थानमा राख्ने कार्य र असहज परिस्थितिलाई सहज बनाउन भएका अभ्यास सबैका लागि नमुना बनेका छन्। अब यही सन्देश पुनरुत्थानको काममार्फत पनि दिनुपर्छ।”
छलफलमा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले बाढीपीडितका लागि तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना र सुरक्षित बसोबास सुनिश्चित गर्न तीन तहका सरकारबीच निरन्तर सहकार्य आवश्यक रहेको बताए।
उनले तत्कालको उद्धार कार्य सम्पन्न भए पनि बाढीबाट प्रभावित नागरिकका घर तथा संरचनाको खोजी, अवरुद्ध सडक तथा पहुँचमार्ग तत्काल सञ्चालनमा ल्याई प्रभावित क्षेत्रको आवागमन सहज बनाउनुपर्नेमा जोड दिए। विगतमा पुल रहेका स्थानमा तत्काल बेलीब्रिज निर्माणलाई प्राथमिकता दिन पनि उनले माग गरे।
‘होल्डिङ सेन्टर’मा बसिरहेका बाढीपीडितलाई दीर्घकालीन समाधानसहित सुरक्षित र सम्मानजनक रूपमा घर फर्कने वातावरण बनाउन तीन तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको श्रेष्ठले बताए।
“बाढीबाट बेत्रावती, भैँसे, अक्करे, त्रिशूली, देवीघाटलगायत बजार उठिबास भएका छन्। नयाँ बस्ती निर्माणका लागि उपयुक्त स्थान पहिचान गरी आवश्यक जग्गा व्यवस्थापनमा सङ्घीय सरकारको साथ खोजेका छौँ,” उनले भने, “विपद्का कारण आर्थिक रूपमा प्रभावित भएका नागरिक तथा प्रभावित क्षेत्रका नागरिकले लिएको ऋणमा लचकता अपनाई अनुदान र थप सहयोग भए लक्ष्यभित्र पुनरुत्थान सम्पन्न गर्न सकिन्छ।”
मन्त्री रावललाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, प्रहरी उपरीक्षक विपिन रेग्मीलगायत जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधिले जिल्लाका होल्डिङ सेन्टरको अवस्था तथा व्यवस्थापनबारे जानकारी गराएका थिए।
उनीहरूले प्राप्त राहत सामग्री र त्यसको समानुपातिक वितरण तथा नागरिकको दैनिक जनजीवनसँग जोडिएका स्वास्थ्य, आवागमन, विद्युत् र खानेपानीलगायत विषयमा समेत मन्त्री रावललाई जानकारी गराएका थिए।