काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षा हुनसक्ने जनाएको छ।
विभागकी मौसमविद् बिनु महर्जनका अनुसार बाढी प्रभावित जिल्ला रसुवाको पहाडी भू–भागमा दिउँसो भारी वर्षाको सम्भावना छ भने अन्य प्रभावित क्षेत्रमा मध्यम वर्षा हुनसक्नेछ।
उनका अनुसार देशका विभिन्न स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै झापाको अनारमनी बिर्तास्थित मौसम मापन केन्द्रमा ३४ मिलिमिटर वर्षा मापन भएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको विभागले जनाएको छ। अहिले देशभर सामान्यतया बदली रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।
लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्नसक्ने सम्भावना पनि रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग, देशका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै तथा मधेस प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।
विभागका अनुसार आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना कायमै रहनेछ।